पाल्पा, पाल्पाको तानसेनमा बहुउद्देश्यी सहकारीको रुपमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा मनाउदै ‘रजत जयन्तीतर्फको यात्रा’ तय गरेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई आत्मसाथ गरी २०५७ मा स्थापना भएको सहकारीले २४ औं साधारण सभा मनाई रजत जयन्तीतिरको यात्रा तय गरेको हो ।
सहकारीले २३ वर्षको यात्रामा आफुलाई जिल्लाकै प्रतिष्ठित र उत्कृष्ट वित्तिय संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो तानसेनमा सहकारी भोलि जिल्लामै प्रतिष्ठित र उत्कृष्ट वित्तिय सेवा प्रदान गर्ने सहकारीको रूपमा खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै श्रीनगर सहकारीले आफ्नो २४ वर्षे यात्रा सम्झ्दै रजत महोत्सवको संघारमा पुगेको छ । जिल्लामा तत्कालिन समयमा सामान्य वर्गका नागरिकहरुको रकमलाई एकिकृत गरी आर्थिक रुपमा उनीहरुलाई सक्षम बनाउन प्राप्त सहकारीहरु थिएनन् । भएका केही सहकारीहरुले समेत आमनागरिकलाई विश्वास दिलाउन सकेका थिएनन् । त्यही परिवेशमा स्थापना भएको श्रीनगर सहकारीलाई वित्तिय क्षेत्रको आधारशिला मान्न सकिन्छ । यो सहकारी स्थापनापछि थुप्रै सहकारीहरू खुले । सहकारीले २३ वर्षे यात्रामा आर्थिक समृद्धिको रुपमा फड्को मारेको छ । उसले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि श्रीनगरले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको हो । वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता, संस्थागत वृद्धि र निरन्तर समृद्धिको खाका तय गर्दै सहकारीले शनिबार २४ औं वार्षिक सधारण सभा मनाएको छ ।
सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ५५ लाख ४ हजार रुपैंया शेयर पूँजी पुर्याउन सफल भएको छ । उसले सोही आर्थिक वर्षमा ८५ लाख ६३ हजार ६ सय ६२ रुपैंया आम्दानी गर्न सफल भएको छ । जसमा सहकारीले ७ लाख ३७ हजार ५ सय ७४ रुपैयाँ नाफा आर्जन गरेको छ । सोही आर्थिक वर्षमा सहकारीले १६ करोड १६ लाख ६ हजार ५ सय ३० रुपैयाँ बराबरको कारोबार गरेको कोषाध्यक्ष बेदराम श्रीसद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा सोही अवधिमा सहकारीले ६ करोड ८८ लाख ८१ हजार लगानी गरेको देखिन्छ । उसले आफ्नो वित्तिय कारोबारको मूल आधार शेयर सदस्य नै भएको र नीतिगत रुपमा पनि निरन्तर सदस्यहरु वृद्धि गर्नुपर्ने प्रावधान रहेकाले शेयर सदस्य बढाएर एक हजार ४ सय ५१ पु¥याएको सचिव भरत शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि खनालले जिल्लाको आर्थिक विकासमा श्रीनगर सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सहकारीको नेतृत्व र कर्मचारीको लगावले सहकारी उत्कृष्ट भएको धारणा व्यक्त गरे ।
तानसेन नगरपालिका सहकारी विभाग प्रमुख विष्णु पौड्यालले तीन खम्बे अर्थ नीति मध्ये सहकारी एक भएको बताए । उनले आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको औल्याए । सहकारीका अध्यक्ष झपेन्द्र गहिरेले सहकारीले १७ करोडको हारहारीमा कारोबार गर्न सफल भएको बताए । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उनले यो बर्ष आफ्नै जग्गामा भवन निर्माण गरी सहकारीलाई थप प्रविधीमैत्री बनाउने गरी आफुहरु अगाडि बढेको जानकारी गराए । अध्यक्ष गहिरेले सहकारीले जनताको गर्जो टार्ने काम गर्दै आएको उल्लेख गरे । उनले पछिल्लो समय केही सहकारीहरुमा आर्थिक अपचलन भएका समाचारहरु आइरहेकाले श्रीनगर सहकारीमा त्यस्तो नभएकाले ढुक्क भएर लगानी गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । सचिव भरत शर्माले सचिवको संगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मर्म, सिद्धान्त र नीति नियम भित्र रहेर कारोबार गर्दै आएकाले आफुहरु अन्य सहकारीहरु भन्दा अग्रस्थानमा आउन सफल भएको बताए ।
शेयर सदस्य पर्शुराम सापकोटोले सबैको विश्वास जित्ने गरी काम गर्न सहकारीलाई आग्रह गरे । कार्यक्रममा कोषाध्यक्ष बेदराम श्रीसले सहकारीको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षक समितिका संयोजक जयराम सुवेदीले लेखा सुपरिवेक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले जेष्ठ नागरिक सुलोचना शाहा, कृष्ण चन्द्र रायमाझी, भिमबहादुर चौहान, बुद्ध लक्ष्मी श्रेष्ठलाई सम्मान गरेको छ ।
यस्तै उसले उत्कृष्ट बचततर्फ इसफ मियाँ, करन थापा, धिरजसिं घर्ती मगर, दिवाकर खनाल, कमल ढकाल, रुपकला विक, बाल बचततर्फ वर्षा कुंवर, कर्जातर्फ विद्या शाक्यलाई सम्मान गरेको छ । सहकारीले शेयर सदस्यहरुका छोरा छोरी मध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उर्तिण हुने प्रकृति थापा, निकिता देवकोटा, संकल्प आचार्य, आयुष गैरे, उत्कृष्ट कर्मचारीतर्फ मुना श्रेष्ठ, तम्सरी सोमै, सीता घिमिरेलाई पनि सम्मान गरेको छ । सहकारीका अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षता, सहकारीकी प्रबन्धक कविता नेपालको स्वागत, सचिव भरत शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।