Shittalpati
जातिगत विभेद र हिंसा

हाम्रो समाज बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुँसाँस्कृतिक तथा विविधतायुक्त समाज हो । अहिले पनि देशका धेरै जिल्ला, गाउँहरूमा आफ्नै जाति तथा समुदायमा मात्र मागी बिहेवारी गर्ने चालचलन नै बढी छ । जातिय, क्षेत्रीय मनोविज्ञानले पनि जनतालाई विभाजित गरेको छ । यसको प्रत्यक्ष, परोक्ष प्रभाव मुलुकको समग्र विकास र जातिय सद्भावमा परेको छ । जातिय, क्षेत्रीय आन्दोलन तथा साम्प्रदायिक भावनालाई भड्काउनेलाई यसले प्रोत्साहित गरेको छ । त्यसो भएको हुनाले अन्तरजातिय बिवाहलाई राज्यले प्रोत्साहन गर्नुपर्दछ । अन्तरजातिय विवाहले जातिय अन्तर्घुलनलाई सकारात्मक प्रभाव पार्दछ ।

नाता सम्बन्धले जातिजातिको बीचमा माया, प्रेम, साथ, सहयोग, सद्भावलाई प्रगाढ बनाउँछ । तर पछिल्लो समय जातियताका नाममा हिंसाहरु बढ्दै गएका छन् । हिंसा जुनसुकै नाम वा निहुँमा भएपनि निन्दनीय र दण्डनीय नै हुन्छ । त्यसमाथि जातिका नाममा हुने गरिने हिंसा थप निन्दनीय हो । यस्तो विभेदजन्य अपराधमा कतिपय अवस्थामा कानुनमा नै थप दण्डको व्यवस्था गरिएको हुन्छ । केही दिन पहिले रुकुम पश्चिममा भएको दलित युवकको हत्याले देशैभर सनसनी फैलाएको छ । यो अत्यन्तै दुखद् हो । कथित माथिल्लो जातिकी किशोरी र दलित किशोरबीच भएको प्रेम प्रसङ्ग अन्ततःसामूहिक हत्यामा पुगेर टुंगिएको छ ।

दलित युवकको समूह अर्को गाउँमा किशोरीलाई भगाउन जाँदा गाउँले नै उल्टिएर कुटपिट गर्दा प्रेमी भनिएका युवकको मृत्यु भएको र उनका साथीहरू पनि मारिएको समाचारले सबैलाई स्तब्ध बनाएको छ । एक्काइसौं शताब्दीमा पनि नेपाली समाजमा जातिय हिंसाका घटना गर्नु निन्दनिय हो । जातिय विभेदका रूपमा प्रकट भएको हिंसा अर्को पटक अर्कै निहुँमा देखा नपर्ला भन्न सकिदैन । यसर्थ रुकुम पश्चिमको यस घटनालाई सरकारले कानुनी अपराधका रूपमा गम्भीर छानविन गरी दोषीलाई प्रचलित कानुन बमोजिम सजाय दिने कार्यमा ढिला गर्नु हुँदैन ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update