
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो । कोरोना महामारीको बेला जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी,स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालक गरी ६१ जनाको प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।
कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीकोे आत्मबल बढाउनका लागि गाउँपालिकाले शिखर इन्स्योरेन्स मार्फत कोरोना बीमा गरिदिएको अध्यक्ष कार्कीले जानकारी दिए । उनले भने ‘कोरोना कहरको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कामप्रति उत्तरदायी बनाउन हामीले कोरोना बीमा गरिदिएका हौ ।’ कोरोनाका कारण विश्वमा स्वास्थ्यकर्मीको समेत मृत्यु भइसकेको अवस्थामा उच्च मनोबलका साथ कोरोनासँग लड्नका लागि कोरोना बीमाले महत्वपूर्ण टेवा पुग्नेमा आफुहरु विश्वस्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए ।