Shittalpati
भूकम्प सुरक्षा दिवस र सार्थकता

प्राकृतिक प्रकोप लगायत विभिन्न असरहरुबाट जोगिन नेपालमा हरेक वर्ष विभिन्न सुरक्षाका कार्यक्रमहरु हुने गर्दछन् । तर, जति कार्यक्रम गोष्ठी सञ्चालन भएपनि जोखिम न्यूनीकरण अहिले सम्म भएको छैन । भूकम्प सुरक्षा दिवस पनि नेपालमा वर्षेनी मनाईन्छ तर दिवस र नारा त्यहि दिन घन्किएपनि मानिसहरु जोखिमबाट बच्न सकेका छैनन् र पीडामाथि पीडा झन चर्कदो छ । १९९० साल माघ २ गते गएको विनासकारी भूकम्पको सम्झनामा सरकारले ०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो ।

बिहीबार पनि देशभर २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईयो । दिवसका अवसरमा सरकार र गैरसरकारी संस्थाले जोखिम न्यूनीकरण गर्न विभिन्न नारा, तालिमहरु बनाए पनि नेपालमा भूकम्पको जोखिम उत्तिकै छ । २०७२ सालको भूकम्पले नेपालीको जीवन र मानसिकतामा कहिल्यै नविर्सिने घाउहरु छाडेको तितो यथार्थ छ । भूकम्प सुरक्षा दिवस जति नै मनाएपनि स्थिति यथावत नै छ । नेपाललाई पछिल्लो समय भूकम्पीय क्षतिका हिसावमा जोखिम पूर्ण मानिएको छ ।

०७२ साल वैशाखमा गएको विनासकारी भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणको क्रम अहिले पनि जारी रहेको सन्दर्भमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको आफ्नै महत्व छ । भूकम्प सुरक्षा दिवसको सार्थकता दुईवटा हिसाबले हुन्छ । पहिलो हो, भूकम्पबाट हुने क्षति तथा क्षतिबाट बच्ने उपायबारे व्यापक जनचेतना अभिवृद्धि गराउनु । दोस्रो हो, भूकम्पको क्षति पछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने विश्वास जनतालाई दिलाउनु । तर, २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा यी दुवै कुराको सार्थकता देखिएन ।

सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरे पनि उपलब्धि भने खासै हुन सकेन । दिवसलाई औपचारिकतामा नै सीमित गर्दा र योजनाहरुको प्रभावकारी अनुगमन नहुदाँ भूकम्प सुरक्षा दिवसले सार्थकता पाउन सकेन ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update