Shittalpati
जाँच प्रणाली तीव्र बढाऊ

समस्यै समस्या बीच कोरोना महामारीले ग्रस्त विश्वमान चित्र भित्रको हाम्रो मुलुकमा पनि दिन प्रतिदिन महामारी फैलिने क्रम बढेको छ । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने संक्रमितहरु झण्डै ३ सय पुगेका छन् । यस्तो अवस्थाप्रति सरकारको ध्यान जुन रुपमा जानुपर्ने हो त्यस्तो भएको पाइदैन । कोराना संक्रमणको जाँच गर्ने कार्यलाई बढाउनु पर्नेमा सो कार्य अत्यन्तै ढिला भएको छ । यसको भ्याक्सिन नबनेसम्म कोरोना न्यूनिकरणको सम्भावना कमै छ । सरकारलाई सीमा सुरक्षाका साथै वजेट निर्माण अनि विभिन्न समस्याको सामना गर्नुपरेको बेला महामारी नियन्त्रण र संक्रमणको लागि आवश्यक पर्ने किटको अभावको पिरलो छ ।

यस्ता समस्याहरुप्रति सरकार गम्भीर नभएको भन्ने गुनासा किन आए ? त्यसतर्फ ध्यान जानु जरुरी छ । दुई महिनासम्मको लगातार लकडाउन र विभिन्न खालका त्रासबाट अगाडि बढेको हाम्रो नेपालमा आइतबार बसेको उच्चस्तरीय समितिले मन्त्रीमण्डल समक्ष जेठ महिना भरी लकडाउन थप्ने निर्णय कार्यान्वयनका लागि सिफारिस गर्दै लकडाउनलाई व्यवहारिक र अझै व्यवस्थित गर्ने सुझाव समेत दिएपछि अब नेपालमा पनि महामारीको शुभारम्भ भएछ, भनेर भन्न सकिन्छ । त्यसकारण यी सबै समस्यासंगै भविष्यमा आउने जोखिम न्यूनिकरणका लागि सरकारले महत्वका साथ ध्यान दिनुपर्ने देखिन्छ ।

लकडाउनलाई व्यवस्थित र व्यवहारिक बनाउन कडा सुरक्षा गर्न सकिएन भने, हामी झन्भन्दा झन विकराल अवस्थामा पुग्न सक्ने अवस्था हो । अन्य छिमेकी र ठूला देशको तुलनामा हाम्रोमा जोखिमको नतिजा कम भएता पनि हालसालै देखि फैलिन थालेको यो क्रमलाई रोक्न सकिएन भने, अन्य देशमा जस्तै झनभन्दा झन विकराल अवस्था नआउँला भन्न सकिदैन । टेस्ट गर्ने प्रणालीलाई छिटो छरितो गर्नुका साथै सबै प्रदेश र जिल्ला, गाउँसम्म पनि यसको पहुँचलाई बढाउनुको विकल्प छैंन । त्यसकारण जाँच प्रणालीको संख्या छिटो भन्दा छिटो बढाउनु नै आजको आवश्यकता हो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने भएको छ । मुलुकका सबै निकायले समयमै ख्याल गरेनन् भने समस्या झन थपिने बाहेक केही हुन सक्दैन ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update