 
                                                                    पाल्पा, मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ । पर्वको पहिलो दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै नै चहलपहल बढेको थियो । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढिएको छ । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान समेत गरिएको थियो । मुस्लिम धर्मावलम्बीले सोमबारदेखि तीन दिन बुधबारसम्म यो पर्व मनाउदै छन् ।
यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो । त्यसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस् यो भेडालाई बलिदान गर भनी आदेश दिएको हो भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको ऐतिहासिक पृष्ठभूमि छ । पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको थियो ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    