 
                                                                    पाल्पा, देशभरका इस्लाम धर्मालम्बीहरुले आज हर्सोउल्लासका साथ बक्र ईद (उल अजहा) पर्व मनाउँदै छन् । इस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ । वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ ।
यो पर्व इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएका थिएन । अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । आज पर्व मनाउनका लागि मुसलमान समुदाय तयारीमा जुटेका छन् ।
पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । शुक्रबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै इस्लाम धर्मा लम्बिहरुको पर्व बक्र ईदमा सार्वनजिक बिदा दिने जानकारी दिएको थियो । ईदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयका सहसचिव/प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । ‘मिति २०८०÷१०÷२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    