Shittalpati
७१ जिल्लामा फैलियो डेंगु संक्रमण

काठमाडौँ, डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको संक्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको बताए । ‘गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ । त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ’, उनले भने । उनका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा संक्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेंगु रोगको संक्रमण देखिएको थियो । उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update