Shittalpati
मेला महोत्सव र विकृती

पुसको पहिलो साता देखि बैशाखको अन्तिमसम्म देशका विभिन्न ठाउँमा आयोजना हुने व्यवसायिक तथा धार्मिक मेला महोत्सवमा विभिन्न खालका विकृती र विसंगति पनि भित्रिने खतरा पनि त्यतिकै छ । व्यवसायिक तथा धार्मिक एक्जिभिसनमा हुने सांस्कृतिक कार्यक्रमले दर्शकलाई आकर्षित त गर्छ नै तर त्यसबाट कतिपय ठाउँमा विकृती र विसंगति फैलिएका घटनाहरु पनि हुने गरेका छन् ।

सांस्कृतिक कार्यक्रममा उश्रृङ्खल प्रस्तुती, अनि महोत्सवको अवलोकन गर्न आउँने क्रममा युवा युवतीहरु बीचको अनैतिक सम्बन्ध, खानपानमा अशुद्धताका साथै विभिन्न खालका समस्याका कारण महोत्सवबाट जे जति फाईदाहरु हुने गर्छन्, त्यतिनै विकृतीका रुपमा विकसित हुँदै गएको आभास पनि भएको पाईन्छ । महंगा कलाकारहरुका कारण बढ्दो खर्च, अनि त्यसमाथि आयोजकको तर्फबाट हुने खर्चको अनियन्त्रित व्याय र कुशल व्यवस्थापन नहुँदा पनि समस्या माथि समस्या हुने गरेको हो । मेलाका दर्शकहरु व्यावसायिक ज्ञान र उत्पादनको अनुभव लिन भन्दा पनि रमाइलो गर्ने, खाने पिउने र केही फजुल खर्च बढाउँने जस्ता कार्यले प्राथमिकता पाउनु आफैमा अत्यन्त दुखद् पक्ष हो ।

त्यस कारण मेलापर्व गर्नुको प्रमुख उद्देश्य निश्चित हुनु जरुरी छ । त्यस कारण देश भरका चेम्वर, स्थानीय क्लव, तथा व्यावसायिक प्रतिष्ठानहरुले आयोजना गर्ने मेला महोत्सवलाई व्यवसाय प्रर्वद्धनका साथै, सिप र ज्ञान हस्तान्तरण गर्दै आर्थिक समृद्धिमा जोड दिनुपर्ने आवश्यकता छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका तर्फबाट दिईने अनुदान, कृषि, उद्योगका साथै कुटीर उद्योगलाई व्यवसायिक विकास गर्ने दीशा तर्फ मेला पर्वहरु सकारात्मक भएर चलाईनुपर्ने हुन्छ । आयोजक र कलाकारका लागि उपयुक्त मञ्च निर्माण भए पनि मेलालाई पर्यटन, प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरण अनि कर नीतिको सही प्रयोग गर्दै आर्थिक समृद्धिको पक्षलाई सवल बनाउने तर्फ अग्रसर हुनुपर्ने देखिन्छ । अन्यथा मेला केवल मेला बाहेक केही पनि हुन सक्दैन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update