Shittalpati
नेप्से शेयर बजारमा ३३ अंकले बढ्यो

काठमाडौं, साताको तेस्रो दिन शेयर बजार उत्साह छाएको छ । मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ३३ दशमलव एक पाँच अंकको उत्साह छाएको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव पाँच नौ प्रतिशतले बढेर २१ सय १५ दशमलव दुई चार अंकमा उक्लिएको छ ।

मंगलबार कारोबारमा आएका सबै समूहले समग्र परिसूचकमा हरियाली छाएको छ । जलविद्युत, वित्त, जिवन बीमा, निर्जिवन बीमा र व्यापार समूहको परिसूचकमा दुई प्रतिशत भन्दा धेरैले हरियाली छाउँदा वाणिज्य बैंक, विकास बैंक, लगानी र लघुवित्त समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढेको छ । होटल र पर्यटन, उत्पादनमूलक, म्युचुअल फण्ड र अन्य समूहको परिसूचकमा पनि एक प्रतिशतभन्दा कमले भएपनि हरियाली छाएको छ ।

मंगलबार बढेको बजारमा कारोबार रकम पनि साढे ५ अर्ब भन्दा धेरै भएको छ । दिनभर कुल ३ सय ११ कम्पनीको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरमा किनबेच भएको हो । अघिल्लो दिन पनि १ करोड १६ लाख ३४ हजार कित्ता शेयर ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो । कारोबार रकमको आधारमा मंगलबार पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनी एक्लैको ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । मंगलबार नेप्से परिसूचकका साथै कारोबार रकममा समेत उत्साह छाउँदा बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर्स लिमिटेड, कुथेली बुखारी स्माँल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य पनि सर्किट लेबलमा बढेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update