Shittalpati
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सोमबार रामपुर नगरपालिका–७ मा भएको कार्यक्रममा बोल्दै उनले शान्त, समुन्नत, हिंसा एवं अपराधरहित समाज निर्माणका लागि सबैमा सकारात्मक सोचको आवश्यक रहेको औल्याए । नगरप्रमुख थापाले समाजमा घरेलु हिंसा व्याप्त रहेको भन्दै यसको न्यनिकरण र नियन्त्रण गनु पर्ने बताए । उनले भने ‘विभिन्न विकृति विसंगतीका कारण हिंसा बढ्ने गरेको छ, यसले मानिसलाई विचलित बनाई विभिन्न घटना समेत हुने गरेको छ यसका लागि सबै सचेत हुनुपर्छ ।’ प्रविधिको प्रयोग र विभिन्न सामाजिक सञ्जालले विकृतिसँगै हिंसा फैलाई रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उपप्रमुख बाल कुमारी थापाले नगरपालिकालाई हिंसामुक्त बनाउनका लागि प्रतिबद्ध भएर लागेको बताईन् ।

यसका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले उल्लेख गरिन् । ७ का वडा अध्यक्ष दोवराज तिवारीले अपराध र हिंसा मानविय व्यवहारका कारण हुने भन्दै समाजिक सञ्जाल र प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने जोड दिए । आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले विद्यार्थीहरुमा सचेतनाको अभावका कारण बाल विवाह गर्ने समस्या रहेको र सोही कारण विभिन्न हिंसा निम्तिएको भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । वडाका मेलमिलापकर्ता तिलबहादुर श्रेष्ठ र टोल विकास संस्थाका मनोरथ भट्टराई लगायतले हिंसा र अपराध नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले विभिन्न प्रकारका हिंसा, यसको कानुनी उपचारको व्यवस्था, अपराध, बाल विवाह लगायतका विषयमा सहजिकरण गरेका थिए । न्यायिक समितिका सदस्य तथा वडा सदस्य खेमराज अधिकारीको स्वागत र न्यायिक समिति सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा  कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update