 
                                                                    पाल्पा,जिल्लाको तानसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सह–संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले तानसेनलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरेकी हुन् ।
जिल्ला खोप समन्वय समितिका सह–संयोजक गैरे, समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमकाबिच नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई पालिकालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । पालिकाका १४ वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरेपछि सिङ्गो नगरलाई नै पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
नगर भित्रका जन्मेदेखी १५ महिनासम्म र १६ महिनादेखी ५९ महिनासम्मका बालबालिकालाई खोप अभियान नै सञ्चालन गरेर नगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषित गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार चैत्र मसान्तसम्म ०–१५ महिनाका ५ सय ३ र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार ८ सय २ जना बालबालिकाहरुलाई खोप लगाइएको हो । जसमा छुटेका ३ जना बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख गैरेले पूर्ण खोप कार्यक्रम अभियानले बाल मृत्युदर, मातृ मृत्युदर, शून्यको अवस्थामा पुर्र्याएको, मानिसको औसत आयुमा वृद्धि गरेको, धेरै किसिमका रोगहरुबाट मानिसलाई सुरक्षित बनाएकाले समग्र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार आएको बताईन ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीले पूर्ण खोप सुनिश्चिता कार्यक्रमले ५ बर्षमुनिका कुनै पनि बालबालिका सरकारको मापदण्ड भित्रका खोपहरु पाउने, कुनै तरिकाबाट छुटेका भएपनि पुनः समेटिने भएकाले निकै प्रभावकारी भएको बताए । पाल्पाले विगत ३ बर्ष देखी खोप सुनिश्चितता भएको पालिका अभियानलाई निरन्तरता दिदै आएको प्रमुख डा. गिरीको भनाई छ ।
नगर प्रमुख श्रेष्ठले राष्ट्रिय खोप अभियान अन्तर्गत नै नगरका १४ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका घोषणा गरिएको बताए । उनले पूर्ण खोप अभियानले पालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार आएको समेत बताए । पूर्ण खोप अभियानले प्रत्येक घर–घरमा पुग्दा स्वास्थ्य क्षेत्रका अन्य विषयबस्तुमा समेत जानकारी प्राप्त भएकाले पालिकाले सोही अनुसारको नीति कार्यक्रम र बजेट बनाउदै आएको समेत नगर प्रमुख श्रेष्ठले उल्लेख गरे । कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर थापा लगायतले नगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    