Shittalpati
बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम शुरु

बुटवल, गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन बुटवलमा नगर प्रमुख गृहिणी  महिला रोजगार कार्यक्रम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाकाले नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । 

कार्यक्रमको सोमबार बुटवल–६ बाट शुभारम्भ गरिएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कार्यक्रमको शुुभारम्भ गरेका हुन् ।  उनले कार्यक्रमको शुभारम्भ गर्दै महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउनका लागि कार्यक्रम शुरु गरिएको बताए । पहिलो चरणमा नगरका ८ सय जना महिलालाई तालिममा समाबेश गर्ने नगरको लक्ष्य रहेको प्रमुख पाण्डेको भनाइ छ ।  तालिम पश्चात हरेक टोल–टोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडि बढाउने उनले बताए । प्रमुख पाण्डेले महिलाहरुलाई आर्यआर्जनसँग जोड्न सिप नै सबैभन्दा ठूलो माध्यम हो भन्ने अभियान चलाएर बुटवललाई एउटा आर्थिक आर्यआर्जनको उर्जाशिल क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको धारणा व्यक्त गरे ।

गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेका सामग्री बिक्रीका लागि कोशेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । वडा अध्यक्ष लोकनाथ न्यौपानेले स्थानीय स्तरमा महिलाहरुमा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update