Shittalpati
तानसेनमा मधुमेहका विरामीको आँखा जाँच

पाल्पा, तानसेनमा मधुमेहका विरामीहरुको आँखा जाँच गरिएको छ । मधुमेहका विरामीहरुलाई केन्द्रविन्दु बनाएर नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनमा आँखा जाँच  गरिएको हो ।

लुम्बिनी नेत्र विज्ञान तथा रण अम्विका शाह आँखा अस्पताल भैरहवाको सहयोगमा आँखा मधुमेहका विरामीहरुको आँखाको पर्दा, रेटिनोप्याथी जाँच शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ । आँखा अस्पताल भैरहवाका वरिष्ठ आँखा चिकित्सक एंव निर्देशक ज्ञानेन्द्र लामिछानेले लगायतका चिकित्सक टोलीले विरामीहरुको आँखा जाँच गरेका थिए । सुगरका विरामीहरुलाई मात्र लक्षित गरेर गरिएको आँखा शिविरमा १ सय २० जनाले आँखा जाँच गराए । शिविरमा चेकजाँच गराएका विरामीमध्ये १० जनालाई जलविन्दु भएकाले थप उपचारको लागि भैरहवा आँखा अस्पताल रिफर गरिएको नेपाल नेत्र ज्योती संघ पाल्पा सचिव राजेन्द्र लिगलले जानकारी दिए । मधुमेह रोग लागेका विरामीको अन्तिम अवस्थासम्म आँखामा कुनै किसिमको लक्षण देखिदैन जसको कारण विरामीलाई एक्कासी अन्धोपन गराउने समस्या बढी भएकाले सामान्य तरिकाको आँखा जाँच भन्दा विशेष प्रकारले आँखा जाँच गरी पुर्याएको असरबारे पत्ता लगाउन र आँखाको ज्योती बचाउनको लागि शिविरको आयोजना गरिएको बरिष्ठ आँखा चिकित्सक ज्ञानेन्द्र लामिछानेले बताए ।

विभिन्न किसिमको तनाव, खानपानको कारण मधुमेह रोग विश्वभरी जटिल बन्दै गएकाले मधुमेह पत्ता लागेका आमनागरिकहरुले कम्तीमा वर्षको एक पटक औषधी राखी आँखाको नानी फुलाएर पर्दा चेकजाँच गर्नुपर्ने डा.लामिछानेले बताए । उनले आँखाका विरामी तथा नर्सहरुलाई मधुमेहले आँखामा गर्ने असर, रोकथाम तथा उपचारको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update