Shittalpati
असनटोल मगर समुदायमा कानुनी सचेतना

पाल्पा,मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका–२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।

संविधानमा उल्लेख गरिएका मगर जनजाति समुदायका हक अधिकारका विषयमा जानकारी र कानुनमा  रहेका केही अन्यौलता हटाउने उद्देश्यले मगर समुदायमा कानुनी सचेतना कार्यक्रम गरिएको समाजले जनाएको छ । कार्यक्रममा प्रशिक्षक तथा अधिवक्ता दोलखबहादुर रास्कोटीले संविधानमा व्यवस्था भएका मगर जनजातिका हक, अधिकार र जिम्मेवारीका विषयमा जानकारी गराएका थिए । उनले संविधानले थुप्रै अधिकारहरुको व्यवस्था गरेकाले तिनको सही उपयोग गर्न मगर समुदायलाई आग्रह गरे ।  अधिवक्ता रास्कोटीले संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेकाले प्राप्त अधिकारलाई संस्थागत र संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले जिल्लाभर छरिएर रहेका मगर समुदायलाई मगर जातिको पहिचान बचाईराख्न समेत आग्रह गरे । भाषा र पहिचान भनेको गौरवको विषय भएको भन्दै त्यसको संरक्षण गर्नु स्वयम समुदायको दायित्व रहेको समेत  रास्कोटीले उल्लेख गरे । कार्यक्रममा मगर समुदायको पहिचान, संविधानले व्यवस्था गरेका हक, अधिकार, अन्य समुदायसँगको सहकार्य, समन्वय लगायतका विषयमा व्यापक छलफल भएको थियो । समाजका अध्यक्ष वीरबहादुर थापाको अध्यक्षता, समाजका प्रमुख सल्लाहकार विष्णु बरालको स्वागत, सचिव सूर्यबहादुर गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ३१ जना मगर जनजाति समुदायका व्यक्तिहरुको सहभागीता रहेको थियो । समाजले हरेक महिना विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । उसले भाषा, संस्कृति, धर्मको संरक्षण, जेष्ठ नागरिक, बालबालिकाहरुलाई सम्मान आर्थिक सहयोग, टोल सरसफाई जस्ता कार्यहरु गर्दै  आएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update