Shittalpati
हामी आफै सुध्रिऔं, आलोचना गर्ने परम्पराले कहिल्यै विकास हुँदैन : मन्त्री बस्नेत  

पाल्पा, लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले आफै सुध्रिए विकास स्वतः हुने बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघले शनिबार तानसेनमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै हामी आफै सुध्रिए विकास स्वतः हुने बताएका हुन् । 

मन्त्री बस्नेतले  हामी आफु नसुघ्रिने अरुले यो गरेन, उ गरेन भनेर आलोचना मात्रै गर्ने परम्पराले विकास कहिल्यै नहुने बताए । उनले भने ‘ युवाहरु सबै विदेश गए केही भएन भन्छौं, २ सय ४० /५० मेगावट विजुली उत्पादन हुँदा पनि देश स्वर्ग थियो भन्ने, अब करिव ८ हजार पुुग्न थाल्यो केही भा छैन भन्ने, सडक सञ्जाल सबैको घर–घरमा पुग्यो केही भा छैन भन्ने, पहिले त यही तानसेनबाट तम्घास पुग्न भिरबाट झुण्डिएर पुग्नु पथ्यो, अहिले त पिच भाको छ नि त्यही पनि केही भाको छैन भन्ने, गर्ने केही नाई विकास भएन भन्ने ? यस्तो गलत सोंचले कहिल्यै विकास हुुँदैन । हामीले अब सकारात्मक तरिकाले सोच्न जरुरी छ ।’

प्रदेश र संघीय सरकारको वेवास्ताका कारण पाल्पामा ढाका र करुवाको विकास हुन नसकेको कार्यक्रममा सहभागीहरुले राखेको गुनासोलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बजेट विनियोजन गर्दा पनि काम गर्न चासो नदेखाउदा विकास हुन नसकेको बताए । उनले पाल्पामा पर्यटन क्षेत्रका १५ वटा योजना  र घरेलु कार्यालयबाट अन्य तालिमका योजनाहरु समेत सञ्चालनमा रहेको उल्लेख गरे । मन्त्री बस्नेतले भने ‘ करुवाको तालिम लिने र दिने व्यक्ति नै नपाएको भन्ने धेरै उद्योगीहरुको गुनासो छ,तर तालिमका लागि आएको १५ लाख त्यतिकै गयो, अझै प्रदेश सरकारले गर्दै गरेको काम किन भएन भनेर आफुतिर फर्किएर हेर्दैनौं ।’ उनले भएको बजेट खर्च नै नगर्ने अनि सरकारलाई गाली गर्ने गर्दा विकास हुन नसक्ने उल्लेख गरे । प्रदेश सरकारले अघिल्लो पटक पर्यटन क्षेत्रको लागि छुट्याएको बजेटको ३६ प्रतिशत मात्र कार्यान्वयन भएको मन्त्री बस्नेतले बताए । उनले भने ‘ भएको खर्च नगर्ने अनि प्रदेश सरकारले केही गरेन भनेर गाली गर्ने ? हामीमै त कमजोरी रहेछ । भएको किन खर्च नगर्ने ? त्यसैलाई शतप्रतिशत खर्च गरौन ।’ हामीले घरदैलोमा विकास खोज्दा समस्या आएको मन्त्री बस्नेतले बताए । उनले परम्परागत योजनालाई  तोडेर आधुनिक ढंगले पर्यटन क्षेत्रको विकास गर्ने योजना प्रदेश सरकारले बनाएको समेत बताए । मन्त्री बस्नेतले भने‘ टोलमा भएको विकासलाई मात्र पर्यटनको विकास भन्ने सोंच विगतमा रहेको थियो त्यसलाई तोडेर अब हामी पुरातात्विक महत्व र राष्ट्रिय पहिचान चिनाउने क्षेत्रमा लगानी गर्ने योजना बनाएका छौं ।’ उनले पाल्पाको उद्योग, पर्यटन र सहकारीको विकासका लागि प्रथामिकता निर्धारण गरी साझा साधारण बनाएर ल्याएमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

लुम्बिनी प्रदेशका सांसद खेम सारुले देशको अर्थतन्त्रमा नीजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । उनले पाल्पाको ढाका, करुवाको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले विशेष ध्यान दिएको उल्लेख गरे । सांसद सारुले भने ‘ प्रदेश सरकारले औद्योगीक ऐन बनाउने विषयमा छलफल चलाइरहेको छ । त्यसमा पाल्पाली ढाका र करुवालाई पनि जोड्ने गरी म आफैले पनि प्रयास गरेको छुु ।’  कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महोनप्रसाद श्रेष्ठ, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली , पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन लगायतले पाल्पाको विकास पर्यटनबाट मात्रै सम्भव रहेकाले सोही अनुसार प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । छलफलमा ढाका उद्योगका उपाध्यक्ष हरी रायमाझी, अनुशेष रायमाझी, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई, महासंघका सदस्य मुक्तिराम जिसी, होटल व्यवसायी, लक्ष्मण बस्याल, समाजसेवी राम कार्की, मदिरा व्यवसायी लक्ष्मण रेग्मी, व्यवसायी समत मियाँ लगायतले उद्योग, व्यवसायमा भएका समस्या र प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयका बारेमा सुझाव समेत दिएका थिए । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले संघले जिल्लाको विकासमा पुर्‍याएको योगदानका बारेमा जानकारी गराएका थिए । उनले सरकारको गलत नीतिका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेकाले  काम गर्ने वातावरण सिर्जना गरिदिन मन्त्री बस्नेतलाई आग्रह समेत गरे ।

कार्यक्रम संघका अध्यक्ष भट्टराईको अध्यक्षता, उपाध्यक्ष उत्तमकुमार ब्रजचार्यको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा भएको थियो । यस्तै  श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले पनि मन्त्रीसँग छलफल कार्यक्रम गरेको छ । उसले ऐतिहासिक भगवती मन्दिरको विकास र विस्तारमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले मन्त्रीसँग छलफल गरेको हो । छलफलमा इतिहासका जानकार निर्मल श्रेष्ठले भगवती मन्दिरको इतिहासका बारेमा जानकारी गराएका थिए । मन्त्री बस्नेतले  ऐतिहासिक भगवती मन्दिरको विकासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाएका छन् । समितिका अध्यक्ष अशोक महर्जनको अध्यक्षता, सचिव प्रकाश गोंगलको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

   

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update