Shittalpati
सीमा सुरक्षा बढाऊ

नेपाल–भारत सीमा विवाद अहिले फेरि चर्किएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेपछि सीमा विवाद चर्किएको हो । त्यसो, त भारतले सीमा अतिक्रमण गर्दै आएको नौलो विषय भने होइन । यस अघि, पनि मुलुकको विभिन्न क्षेत्रमा भारतले सीमा अतिक्रमण गरिसकेको छ । वैशाख २६ गते भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोबार जाने सडक उद्घाटन गरेको छ । नेपालसँग कुनै पनि परामर्श र सहमति बिना एकातर्फी रुपमा बनाइएको सडकको लकडाउनको अवसर छोपेर भारतले उद्घाटन गरेपछि नेपालले यसको गम्भीर आपत्ति जनाएको छ । यो विषयले अहिले सिंगो मुलुक तरंगित छ ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम हुँदा सीमा सुरक्षाको चिन्तासंगै विभिन्न डर, त्रास पनि उत्तिकै रहेको छ । सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको पर्याप्त उपस्थिति हुन नसक्दा भारतीय पक्षले सीमावर्ती गाउँका नेपालीलाई दुःख दिदैं आएको छ । कुटपिट, गालीगलौज जस्ता घटना सामान्य जस्तै भइसकेका छन् । हत्या, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु पनि भइरहेका छन् । सीमा क्षेत्रमा बस्ने नेपाली गाउँका मान्छे भारतीय पक्षको दादागिरीबाट आजित भएका छन् । पछिल्ला यस्ता घटनाक्रमले हाम्रो सीमा सुरक्षाको आगामी चुनौतीको स्पष्ट संकेत दिएको छ । दुई देशबीच राजनीतिक तहमा वार्ता तथा कुटनीतिक पहलबाट सीमा विवाद टुंग्याउनुपर्ने विषय आफ्नो ठाउँमा छ ।

तर सीमा सुरक्षाका लागि अहिले सानो आकारमा सिमित स्थानमा परिचालित सुरक्षाकर्मी तथा प्रशासनिक उपस्थितिलाई अझ् विस्तार गरेर कसिलो बनाउनुपर्ने देखिन्छ । सीमा सुरक्षा आफैमा संवेदनशिल विषय हो । सीमा विवादमा राजनीतिक तहमा बेलाबखत बहस र चर्चा चर्किदै सेलाउँदे आए पनि सीमा सुरक्षाको संवेदनशिलता खासै प्राथमिकता परेको छैन । कोरोना संक्रमण रोकथामको रणनीतिसँगै सीमा सुरक्षाको संवेदनशिलता यति बेला राज्यका निकाय र नागरिक स्तरबाट पनि महसुस भएको छ । यसर्थ सरकारले बिलम्ब नगरीकन जति सक्दो चाँडो सीमा क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न जरुरी देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update