Shittalpati
सदनमा काँग्रेसको अडान : संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्न नदिने

 पाल्पा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्ने अडान कायमै राखेको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई सदनमा काँग्रेसले कायमै राखेको हो ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै काँग्रेसले अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै काँग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारवाही अघि बढाउन नदिएको हो  ।

काँंग्रेस महामन्त्री गगन थापाले प्रतिनिधि सभाको बैंठकमा बोल्दै संसदीय छानबिन समिति गठन नगर्दासम्म कुनै कारवाही अघि बढ्न नदिने घोषणा गरे । गृहमन्त्री रवि लामिछानेका बारेमा अनेक प्रमाण रहेकोमा उनले महान्यायाधिवक्ताको कार्यालयलाई दुरुपयोग गरेको थापाले बताए । उनले उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपन्देही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी समेत गरे । महामन्त्री थापाले  सरकार र सत्तारुढ दलहरूकै नेतृत्वमा छानबिन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि बताए ।

उनले भने, ‘नेपाली कँंग्रेस सदन चल्नुपर्छ भन्ने कुरा गम्भीर छ । विधेयकहरू पारित होस् । लगानी सम्मेलन सजिलो होस् । धेरै कुरामा गम्भीर भयौँ । संघीय निजामती सेवा ऐन लगायतका विधेयकहरू सदनमा जाओस् भनियो । हाम्रो जम्मा एउटा कुरा थियो । अहिले पनि त्यही कुरा मात्रै छ । सहकारीको ठगीको सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस् । यो संसद्ले छानबिन समिति बनाउँदै गर्दा यो छानबिन समितिमा नेकपा एमाले बस्ने होला, माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सबै बस्ने होला । त्यो त तपाईँहरूकै हातमा छ । त्यो हामीले बनाउने होइन होला । मलाई कसैले आरोप लगाइदिए त मलाई त छानबिन समिति बनाई दिए हुन्थ्यो भन्ने लाग्छ । समिति बनाएर छानबिन गरिदिए आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे । किन डराएको, किन भागेको ?’

महामन्त्री थापाले कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ । हुँदाहुँदै कानूनले भन्छ–महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्न नहुने , यहाँ त प्रभाव होइन, झुकाव राख्न नहुने समेत उल्लेख गरे । थापाले बोलेपछि सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा अघि बढ्न खोजेका थिए । त्यसपछि कांँग्रेस सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए । कांग्रेस सांसदहरुले वेल घेरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिएका हुन । संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने थापाको भनाइ थियो । सभामुखले उपप्रधान तथा गृहमन्त्री लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update