Shittalpati
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै

पाल्पा, आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन यो मनाउने गरिन्छ ।

मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको पाइन्छ । ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवःयसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ । जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ ।

मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवंगत आमाको मुख हेर्ने गर्दछन् । दिवंगत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज आमाको नाममा संकल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवंगत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको छ ।

आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवंगत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवंगत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवंगत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको पाइन्छ । आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।


 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update