Shittalpati
तानसेनमा मस्तिष्क पक्षघातका बालबालिकाहरुको लागि यातायात सेवा सञ्चालन

पाल्पा, विभिन्न किसिमका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि डे केयर सम्म आउन जानको लागि यातायात सेवा सञ्चालन भएको छ । यातायात सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालवालिकाहरुलाई  यातायात सवारी साधनमा चढाई शुभारम्भ गरे ।

नगर प्रमुख श्रेष्ठले फरक क्षमता भएका बालबालिकाहरुलाई सबै पक्षबाट सहयोग जरुरी रहेको र सहयोग गर्दा पुन्य प्राप्ती हुने बताए । नगरपालिकाले  यस्ता वालवालिकाहरुलाई विगत देखी सहयोग गर्दै  आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।  ७ किलो मिटर टाढा देखी दैनिक हिडेर डे केयर सम्म आउने गरेका मस्तिष्क पक्षघातका बालवालिकाहरु अबका दिनमा यातायात साधनमै बसेर आउने भएका छन् । मस्तिष्क पक्षघात स्वावलम्वन समुह काठमाडौको मुख्य सहयोगमा र सिविआर पाल्पाको संयोजनमा विगत ६ बर्ष देखी तानसेनमा डे केयर सञ्चालन हँुदै आएको छ ।

मस्तिष्क पक्षघात भएका बालबालिकाहरु दैनिक रुपमा शारिरिक रुपमा फिजियो थेरापी, दैनिक पठन–पाठन, खेल्दै सिक्दै, दैनिक रुपमा प्रयोग हुने जिवन उपयोगी सिपहरु सिक्न, डे केयर पुग्ने गरेका छन् । मस्तिष्क पक्षघात केही बालबालिकाहरु लठ्ठीको सहायतामा डे केयर पुग्ने गरेका छन् भने केही बालबालिकाहरु अभिभावकको सहायतामा डे केयरमा लैजाने गरिएको छ । डे केयरमा आउने मस्तिष्क पक्षघातका बालबालिकाहरु दिनभरी नै फिजियो देखी खाने बस्ने र खेल्ने व्यबस्था मिलाईएको डे केयरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताए ।

यातायातको लागि तानसेन नगरपालिका वडा नंं २, तिमिसँग आन्विका सहयोग कार्यक्रम, मस्तिष्क पक्षघात स्वावलम्वन समुह काठमाडौ, सुमेत रत्न बज्राचार्य जर्मनी, नरेश प्रसाद प्रधान अमेरिका, पाल्पा सिविआर, श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. लगायतको  सहयोग रहेको छ ।

कार्यक्रममा तानसेन नगरपालिका वडा नंं २ का अध्यक्ष महेश्वर श्रेष्ठले आफ्नै वडामा भएको यस्तो महान अभियानलाई आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने बताए । कार्यक्रममा पाल्पा जेसिसका अध्यक्ष अर्जुन कार्कीले पाल्पा जेसिसले  सन १९९५ साल देखी नै यस क्षेत्रमा सहयोग गर्दै आएको  र आगामी दिनमा  डे केयरलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.का कम्पनी सचिव भविन्द्र गौतमले सबै काम कुरा नाफाबाट नहेरी सामाजिक सेवा र उत्तरदायित्वको भावनाले हेरेमा डे केयर जस्ता संस्थाहरु राम्रोसंग सञ्चालन हुने बताए । कम्पनी सचिव गौतमले आफ्नो समितिले डे केयर सञ्चालनको लागि  सहयोग गर्ने बताए । कार्यक्रमममा अभिभावक चन्द बहादुर रानाले पाल्पा सिविआरका पदाधिकारी तथा सदस्यहरुले मासिक रुपमा वालवालिका तथा अभिभावकहरु संगको भेटघाटलाई बढाउनु पर्ने, बालवालिकालाई चाहिने आवश्यक सरसमानहरु बढाउनु पर्ने सुझाव दिए । डे केयरका कार्यक्रम संयोजक कृष्ण गहतराजले लामो प्रयास र खटाई पछी मस्तिष्क पक्षघात बालबालिकाहरुको लागि यातायातको सुविधा प्रदान गर्न सफल भएको बताए । कार्यक्रम पाल्पा सिविआर अध्यक्ष हेमन्तराज शाक्यको अध्यक्षता र सिविआरका  सदस्य शैलेन्द्र भट्टराईको सञ्चालनमा भएको थियो । डे केयरमा १२ जना मस्तिष्क पक्षघातका बालवालिका र ८ जना अन्य वालवालिकाहरुले नियमित रुपमा पठन–पाठन समेत गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update