Shittalpati
मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग

पाल्पा, जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतकका परिवार र आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । संघले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघमा आवद्ध मृतकका परिवार र आगलागी पीडित श्रमिकहरुलाई आर्थिक सहयोग गरेको हो ।

सधै श्रमिक वर्गहरुको हितमा समर्पित रहँदै आएको संघले एक जना मृतकका परिवार र चार जना आगलागी पीडितलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । निर्माण श्रमिक स्व. हरिचन्द्र  बहादुर घर्तीको स्वभाविक मृत्यु पश्चात उनको परिवारलाई संघले २ लाख ७५ हजार आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकमको चेक संघका अध्यक्ष सुरेश कर्माचार्यले स्व. घर्तीको श्रीमति कला कुमारी घर्तीलाई हस्तान्तरण गरेका हुन् । यस्तै  वैशाख ८ गते जिल्लाको माथागढी गाउँपालिका– ४ मा आगलागी हुँदा घर, गोठ जलेर भौतिक क्षति व्यहोरेका ४ जना श्रमिकहरुलाई पनि संघले ५/५ हजारका दरले राहत रकम सहयोग गरेको छ । उक्त सहयोग रकम पनि संघका अध्यक्ष कर्माचार्यले आगलागी पीडित सुनिता विक, चुनु सुनार, कमला विक, सुकमाया विकलाई हस्तान्तरण गरेका छन् । उनले सहयोग रकम हस्तान्तरण गर्दै दुःख र पीडामा रहेका श्रमिकहरुलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए ।

कर्मचार्यले संघमा आवद्ध श्रमिकहरुको मृत्यु भएमा स्वभाविक मृत्यु  वापतको रकम दिने गरेको भन्दै सो रकमले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । आगलागीका कारण श्रमिकहरुको घर, गोठ जलेको घटनाले संघलाई समेत पीडा बोध भएको अध्यक्ष कर्माचार्यले उल्लेख गरे । उनले श्रमिकहरुको पीडामा संघ पनि सँगसँगै रहेको बताए ।

नवजनचेतना राष्ट्रिय दैनिकका उपसम्पादक रामचन्द्र रायमाझीले संघले आर्थिक सहयोग गरेर दुःख र विपद्मा परेका श्रमिकहरुलाई मलम लगाउने काम गरेको भन्दै संघको प्रशंसा गरे । उनले भने,‘संघले विगतदेखि नै श्रमिकहरुका पिर मर्काहरुमा सँगै हातेमालो गर्दै आएको छ, यो अत्यन्त अनुकरणीय र प्रशंसनिय कार्य हो ।’ सामाजिक कार्य कोषबाट आगलागी पीडित र स्वभाविक मृत्युवापत मृतकका परिवारलाई आर्थिक  सहयोग गरिएको संघका उपाध्यक्ष निलकण्ठ देवकोटोले जानकारी दिए । आर्थिक सहयोग  रकम पाएपछि श्रमिकहरुले आफुहरुको पीडामा सहानुभूति प्रकट गरेको भन्दै संघलाई धन्यवाद दिए । संघका अध्यक्ष सुरेश कर्माचार्यको अध्यक्षता, सचिव हुमराज बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update