Shittalpati
लकडाउन र यसको व्यवस्थापन

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको ५२ औं दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ । यद्यपी बजार क्षेत्रमा अति आवश्यक कामले मानिसहरु घरबाहिर निस्किन सरकारले अनुमती दिए पनि केही मानिसहरु भने काम बाहेक घर बाहिर निस्किएका छन् । सुरुवातका दिनहरुमा पाल्पामा लकडाउनको कडाईका साथ पालना भएपनि पछिल्ला दिनहरुमा भने लकडाउनको पालना भएको देखिदैन । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारी साधन र मानिसहरुका लागि अनुमती भएपनि तानसेन लगायत जिल्लाका अन्य सडक हेर्दा सवारीको चाप र मानिसहरुको भीड अत्याधिक देखिन्छ ।

कोरोना संक्रमण रोक्न एकमात्र उपाय सामाजिक दुरी कायम गर्नु हो । कोरोनासँग सतर्क अवश्य पनि हुनुपर्छ तर यससँग डराएर आन्तरिक गतिविधि नै ठप्प पारिँदा त्यसले अन्य खाले समस्या आउँछ । लामो समयको लकडाउनले उकुसमुकुस भएका सर्वसाधारण सुरक्षाकर्मीको आँखा छल्दै सडकमा निस्किने क्रम बढेको छ । कतिपयले यसलाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेख्ने गरेको पनि पाइन्छ । तर, यसरी आन्तरिक गतिविधि बढ्नु अस्वाभाविक भने होइन किनकी लकडाउनले भौतिक दूरी पालना गर्नुपर्ने सन्देश दिइसकेकाले अब सुरक्षित रहेर नियमित काममा फर्कनुको विकल्प छैन । यसैले सडकमा बाक्लो गाडी वा व्यवसाय सञ्चालन भइरहेको देखेर आपत्ति जनाउनुभन्दा उनीहरूले कत्तिको सुरक्षित रूपमा पेशा व्यवसाय गरिरहेका छन् भन्नेमा ध्यान दिनु आवश्यक छ ।

मानिसलाई रोगसँगै भोकबाट पनि जोगाउनुपर्छ र नेपालजस्तो अति कम विकसित मुलुकले यसको क्षति बेहोर्न सक्दैन भन्ने सबैले बुझ्न आवश्यक छ । मुलुकलाई रोगबाट मात्र नभई भोकबाट पनि बचाउनु आवश्यक छ र यसका लागि लकडाउनमात्र सबथोक हो भन्ने शासकहरूको मनोविज्ञान बदल्न नागरिकले पनि जागरुक हुुन आवश्यक छ । लकडाउन अन्त्य नभई व्यवस्थापन गर्नेतर्फ हाम्रा गतिविधि
केन्द्रित हुनु आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update