Shittalpati
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

पाल्पा, आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाइन्छ । सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो । करिव ६ अर्ब मानिससँगै रहेका करौडौँ प्रजातिका वनस्पति, लाखौँ उभयचर, चराचुरुङी, घ्रर्सने जनावर, एक कोषीयदेखि बहुकोषी जीवहरुको साझा बासस्थान हो, पृथ्वी । ब्रम्हाण्डमा जीवन्तु अरु कहि छ त पृथ्वीमा छ । त्यसैले यो आफैँमा महत्व छ । तर पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहनले यो चपेटामा परेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । अहिले जमिन मरुभूमीकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ । 

पृथ्वीको संरक्षणबारे वेलैमा चासो नदिने हो भने भविष्यमा यसले विकराल रूप लिने निश्चित छ । जलवायु परिवर्तनका कारण दिनप्रतिदिन बढिरहेको पृथ्वीको तापक्रमलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरू बताउँछन् । जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सके मात्र पृथ्वीको संरक्षण हुन सक्छ । वातावरण संरक्षणमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण गर्नुभन्दा पनि यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update