Shittalpati
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते

पाल्पा, पाल्पाका दर्जन बढी ठाउँमा आगलागी भएको छ । सुक्खा खडेरी बढेसँगै यहाँका वन र वन नजिकै रहेका वस्तीहरुमा आगलागी भएको हो । केही दिनयता जिल्लाका विभिन्न ठाउँहरुमा आगलागी भइरहेको छ । यहाँ आगलागीका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् । जंगलबाट बस्तीमा आउन लागेको डढेलो निभाउने क्रममा रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।

शनिबार दिउँसोदेखि स्थानीय जंगलमा लागेको डढेलो निभाउने क्रममा  रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् । घाइते बुढाको  तानसेनस्थित मिसन अस्पताल उपचार भइरहेको छ । यस्तै माथागढी गाउँपालिका–४ झडेवा जामुनडाँडामा डढेलो निभाउने क्रममा ६५ वर्षीय पूर्णबहादुर कामु मगर पनि घाइते भएका छन् । जिल्लाको सिद्धेश्वरका साउने, मोहरे क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको छ । डडेलो बस्तीमा पसेपछि भविश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएका छन् । सिद्धेश्वर क्षेत्रमा लागेको डढेलो आइतबार बिहानसम्म नियन्त्रणमा आउने सकेको छैन । 

माथागढी गाउँपालिकाको झडेवा क्षेत्रमा ५ जनाको घर गोठ जलेर पूर्णरूपमा नष्ट भएको छ । घर गोठमा लागेको डढेलो नियन्त्रणमा आएपनि उक्त जंगलमा नियन्त्रणमा आउन सकेको छैन । पाल्पाकै सिलुवामा लागेको डढेलोले दुई घर र गोठ जलेर नष्ट भएका छन् । तानसेनको श्रीनगर, बतासेडाँडा, वनदेवी क्षेत्र, सेतीपोखरी क्षेत्रमा शनिबार र आइतबार दिनभरी नै आगलागी भयो । पाल्पाकै बगनासकालीको चिर्तुङ्गधारा, पोखराथोक, रिब्दीकोटको कुसुमखोला, पालुङमैनादी, रिब्दीकोट जंगल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, कचलमा पनि आगलागी भएको छ । रैनादेवी छहरा गाउँपालिकाको जुठापौवा, सत्यवती, बल्ढेङगढी क्षेत्रको वनमा डढेलो लागेको छ  ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update