Shittalpati
आज महावीर जयन्ती

पाल्पा, आज महावीर स्वामी जन्म जयन्ती देशभर मनाइँदै छ ।  हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।

महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवानका रुपमा पूजा गरिन्छ । त्यसैकारण यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागीता रहन्छ । तर यसपटक कोरोनाका कारण आफ्नै घरमा उनीहरुले पूजा गर्नेछन् ।  भगवान् महावीरलाई वीर, वर्धमान, अतिवीर र सन्मतिको नामले पनि सम्बोधन गरिन्छ । उनले आफ्नो जीवनमा तप र साधनाको नयाँ प्रतिमान स्थापित गरेका थिए । महावीरको जन्म बिहारको कुण्डग्राममा ईसापूर्व ५ सय ९९ वर्ष पहिले चैत शुक्लको त्रयोदशीका दिन एक राज परिवारमा भएको थियो । उनका पिताका नाम राजा सिद्धार्थ र माता रानी त्रिशला थिइन् । भगवान् मावीरको बाल्यकालको नाम वर्धमान थियो ।

१२ वर्षसम्मको कठोर तपस्यापछि उनले आफ्ना इन्द्रियहरुमाथि विजय प्राप्त गरेको मानिन्छ । त्यसैकारण उनलाई महावीर नामले सम्बोधन गरिएको थियो । राज परिवारमा जन्म भएपछि संसारसामु ज्ञान फैलाउनका लागि उनी सन्त बनेका थिए । महावीरको विवाहलाई लिएर दुईथरी मत छ । श्वेताम्बर सम्प्रदायका मानिसहरु उनको विवाह यशोधरासँग भएको मान्छन् । उनीहरुका अनुसार यो जोडीकी एक छोरी प्रियदर्शना निकै सुन्दर थिइन् । यद्यपी,दिगंबर सम्प्रदायका मानिसहरुका अनुसार महावीरको विवाह भएको थिएन ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update