
पाल्पा । सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाको रिब्दोकोट गाउँपालिका ८ फेकमा कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेकै बेला रेडक्रसले स्वास्थय सामग्री सहयोग गरेको हो । प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा पनि उच्च सावधानी अपनाउन भन्दै शाखामा सञ्चालित सामुदायिक स्वास्थ्य एंव प्राथमिक उपचार परियोजनामार्फत स्वास्थ्य सामग्री वितरण गरिएको शाखाका कार्यक्रम अधिकृत विनोद भारतीले जानकारी दिए ।
कार्यक्रम अधिकृत भारतीले एक सय ५० थान सावुन, दुई सय ५० थान माक्स, एक सय थान ग्लोव्स, १ थान इन्फेरेड थर्मोमीटर,१ जोडी प्लाष्टिक ग्लोव्स,२ थान सेनेटरी प्याड, एक हजार नौ सय मि.लि. सेनीटाईजर,लगाएतका सामग्रीहरु वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन् । उक्त सामग्री वडा कार्यालय मार्फत वडामा रहेका एक स्वास्थ्यचौकी, एक स्वास्थ्य ईकाइ, सिविएच्एफए भोलेन्टियर तथा मोटीभेटर लगायतलाई वितरण हुने रेडक्रसले जनाएको छ । रेडक्रसले आवश्यक परेमा परियोजनाका स्वंमसेवकहरु थप परिचालन गर्ने कुरा कार्यक्रम अधिकृत भारतीले जानकारी दिए ।
परियोजना सञ्चालन भएको फेकमा सिविएच्एफए भोलेन्टियर तथा मोटीभेटरहरुले कोरोना सम्वन्धी सचेतनाका गतिविधिहरु समेत सञ्चालन गरिरहेका छन् । सोही रेडक्रसले सञ्चालन गरेको कार्यक्रमको समिक्षा समेत गरिएको थियो । कार्यक्रममा उपशाखाका उपसभापतिको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नारायण बहादुर लाम्टाङ्गेले रेडक्रसले सञ्चालन गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि रेडक्रससँग समन्वय गरी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा सामाजिक दुरी कायम गरी २५ जनाको सहभागिता थियो ।