Shittalpati
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव

बुटवल, बुटवलको जितगढीमा नेपाल–अंग्रेज बीच भएको युद्वमा नेपालले विजय हासिल गरेको खुसियालीमा शुुक्रबार विजयी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी विजयी उत्सव मनाएको हो ।

गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरियो । बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्‍याली पुल्चोक गणेशमन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो । जितगढी किल्लामा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताए । उनले बुटवलमा रहेको जितगढी किल्ला यस क्षेत्रकै महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको र यसको संरक्षण र प्रवर्धनमा संघीय सरकारले समेत विशेष चासो दिनुपर्ने बताए । नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्वपूर्ण सम्पदाका रुपमा प्रवर्धन गरिरहेको बताउँदै नेपाल अंग्रेज युद्वका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न संघ सरकारसँग माग गरे । उनले किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रुपमा स्थापित गर्न नगरले भरपूर प्रयास गरिरहेको समेत बताए । उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रुपमा रहेको जितगढी किल्लाको संरक्षण र प्रवर्धनमा सबैको साथ जरुरी रहेको बताइन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बुटवलमा रहेको जितगढीको प्रवद्र्धन र प्रचार–प्रसारमा तीब्रता आएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा जितगढी किल्लाको प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै अध्येताहरु निर्मल श्रेष्ठ, विमलबहादुर शाक्य, गोपालप्रसाद लाकौल, पत्रकारहरु महेन्द्र थापा, शरण कर्माचार्य, दिनेश श्रेष्ठ, आम्दा अस्पतालका मेसु डा. विनोद पराजुली, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापा, झपेन्द्र जिसी, कुलबहादुर केसी, क्याप्टेन किसनबहादुर थापा, गंगाबहादुर क्षेत्री, जगत पौडेल, मनोज गौचन, महेन्द्र राजभण्डारी, माधव नेपाल, जमदार माधव पौडेललाई सम्मान गरिएको थियो ।

 जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन कार्यक्रम भएको छ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै हरेक वर्ष बैंशाख ७ गते ऐतिहासिक स्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update