Shittalpati
मनाइयो ‘रामनवमी’ पर्व

पाल्पा, चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी बुधबार धूमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको हो ।

असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पुर्‍याएको योगदानको सम्झनामा रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा देशभर रहेका भगवान रामचन्द्रका मन्दिरमा पूजापाठ गरिएको छ । त्रेतायुगमा चैत्र शुक्लपक्ष नवमीका भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको थियो । पुत्र नहुँदा दुःखी रहेका राजा दशरथले ऋषि बसिष्ठको सल्लाहमा पुत्रेष्टि यज्ञ गरेपछि तीन रानीबाट चार पुत्रको जन्म भएको थियो ।

जनताको भावना अनुसार शासन गर्ने विष्णुको अवतारका रुपमा मनुष्य लोकमा जन्म लिइ आदर्श शासन गरेका राजा रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने एवं पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । यस दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने विषय ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको किंवदन्ती छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update