Shittalpati
लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन

गंगाबहादुर खत्री
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा अनपेक्षित प्रकृतिको परिमार्जन देखिएको छ । विश्वका कोरोना प्रभावित राष्ट्रहरुमा देखिएका गतिविधिका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा असर पर्नु स्वभाविक नै हो । यसो भईरहदा विश्व परिवेशमा नयाँ प्रकृतिका तरहरु देखिरहेका छन् । यस्ता विषयवस्तुबाट नेपाल पनि अछुतो रहन सक्ने अवस्था रहेन नेपाल विगत ५० दिनदेखि लकडाउनको परिधिभित्र छ । विद्यालयहरु लकडाउनको सुरुवाद पूर्व नै बन्दभएका हुन र सबै सेवाहरु सञ्चालन भएको केहि हप्ता पछिमात्र खुल्ने छन् ।

हाल विद्यालयतहमा अध्ययनरत बालबालिकाहरु करिब ८० लाखको हाराहारीमा छन् । तर यी बालबालिका विगत लामो समयदेखि घरमै बसेका छन् । बालबालिकाहरुमा अनेक खालका अन्योलताहरु सिर्जना भएका छन् । कतै नतिजा प्रकाशन भइसकेको छ भने कतै प्रकाशन हुनै बाँकी रहेको छ । केहि विद्यालयहरुले माथिल्लो कक्षाहरुलाई लक्षित गरेर अनलाइन कक्षाहरु सञ्चालनमा ल्याएका छन्, तर त्यस्ता कक्षाहरु सञ्चालनमा नेपाल सरकारले रोक लगाएका समाचारहरु पनि आइरहेका छन् । यस्ता खालका बालबालिकाहरुका लागि लक्षित गरेर वैकल्पिक धारहरुको बारेमा सरकार पक्ष वा सरोकार पक्ष सबै हालको लागि मौन छन् । शिक्षा विद्हरुले समेत ठोस प्रकृतिको विचार वा सुझाव प्रकट गर्न सकेका छैनन् ।

भनिन्छ हरेका विपत्तिहरुले नयाँ खालका जीवन जिउने कलाहरु सिकाएर जान्छ । त्यस्तै कोरोना विपति हुँदाहँुदै पनि शिक्षा प्रणलीलाई परिमार्जन गर्ने एक अवसर समेत हुन सक्छ । विद्यालयहरु बन्द छन्, पसलहरु बन्द छन्, बालबालिकाहरु साथीभाईहरु भन्दा टाढा छन्, वल्लो पल्लो घरमा आवत–जावत बन्द बन्दि छ । बालबालिकाको अवस्था विगतको जस्तो छैन । बालबालिकामा छिटो रिसाउने, टोलाउने, कम बोल्ने वा झगडालु हुने जस्ता परिर्वतित स्वभावहरु देखापर्न थालेका छन् । यी कुराहरुले बालबालिकाहरुमा विशेष प्रभाव पारेका छन् । बालबालिकाहरु एकै स्थानमा बसिरहदा उनीहरुमा देखिने मनोवैज्ञानिक झलकहरु फरक फरक प्रकृति र प्रवृतिका हुन सक्छन् । त्यसको पहिचान र न्यूनिकरणमा अभिभावकीय भूमिका निर्वाह गर्न व्यक्ति, संस्थाहरुको विशेष निगरानीको आवश्यकता हुन्छ । यसर्थ बालबालिकाहरुमा लकडाउनका कारण पारेको असर र त्यसको शैक्षिक मनोविज्ञान र मार्गदर्शनका विषयमा यहाँ चर्चा परिर्चा गर्ने प्रयास गरिएको छ ।

हाल लकडाउन कोरोनासँग लड्ने एक मात्र अस्त्र मानिएको छ । तर यो कति समयसम्म रहने हो भन्न सकिन्न । लामो अवधिसम्म बालबालिकाहरु विद्यालय बाहिर रहँदा उनीहरुको मानसिक स्वास्थ्य कस्तो हुने हो ? या उनीहरु पछिल्लो समयसँग अनुकुलित होला न त ? यो सोचनीय विषय हो । त्यसैले शिक्षा क्षेत्रका विद्धान, वुद्धिजिवी कहलीएका व्यक्ति विशेषले घरमा बसेर सामाजिक सञ्जाल मार्फत अन्य विषयमा दिने अभिव्यक्तिहरुको सिर्जनामा भन्दा नविनतम् प्रकृतिको शिक्षा विकास र बालबालिकाको मनोविज्ञान सुधारका लागि विचार विर्मश गर्नु आवश्यक छ ।

बालबालिकाले हालको परिवेशमा धेरै हदसम्मको उथलपुथल भोगिरहेका छन् । अकस्मात रुपमा आएको यो समस्याले बालबालिबाहरुमा विभिन्न खालका परिवर्तनहरु आएका छन् र यस्ता खालका परिर्वतनले उनीहरुको दिनचार्यमा कति समयसम्म प्रभाव पार्ने हो यकिन छैन । त्यसैले यस्ता खालका उथलपुथलबाट बालबालिबालाई टाढा राख्नका लागि यी परिवर्तनहरुको सिमितिकरण आवश्यक छ । यदि यस्ता खालका परिर्वतनहरुबाट बालबालिबाहरुलाई टाढा राख्न सकिएन भने भोलि शिक्षा क्षेत्रमा नै एक विकराल समस्या आउन सक्छ । त्यसैले शैक्षिक मनोविज्ञान मागदर्शन आजको आवश्यकता हो । शैक्षिक मनोविज्ञान मागदर्शन नै बालबालिकाको मनोविज्ञान सुधारको अचुकऔषधि हुन सक्छ । अघिपछि हामी शिक्षाविद्, शिक्षा सेवी भन्नेहरुको अभिव्यक्ति वर्तमान परिस्थितिसँग बालबालिकाहरुलाई जुझारु बनाउनका लागि भएको खण्डमा शैक्षिक मनोविज्ञान मागदर्शनलाई प्रभावकारी ढ·बाट अगाडि बढाउन सकिन्छ ।

बालबालिका र शिक्षा सम्बन्धीका छलफल र बहसहरुमा एन.जि.ओ र आई.एन.जि.ओहरु पनि शैक्षिक मनोविज्ञान मागदर्शन तर्फ उन्मूख हुनुपर्ने देखिन्छ तर शहरको एउटा कोठामा मात्र सिमित हुने गरी हुनु हुदैन । यो समय लकडाउनका शिराहरुबाट शिक्षामा परिमार्जनसँगै शैक्षिक मनोविज्ञान मागदर्शन आउनुपर्ने समय हो । शिक्षा सम्बन्धी कार्यसम्पादन गर्ने गरेका संघसंस्थाहरुले अहिलेको परिवेशबाट शिक्षा किन ? कस्तो ? कसरी ? भन्ने विषयमा सोच्न जरुरी छ । यो एक शैक्षिक मनोविज्ञान मागदर्शनका साध्य र साधनको खोजसँगै शिक्षालाई परिमार्जन गरी उत्पादनमुखी र जीवनयापनसँग जोडन सक्ने शिक्षा प्रणली सिर्जना गर्न सक्ने अवस्था पनि हो ।

मुलुकभर करिब ८० लाख बालबालिकाहरुले अन्योलता खेपिरहेको परिस्थितिमा बालबालिकाहरुलाई घरमै बसेर शैक्षिक मनोविज्ञान मागदर्शन गर्न सक्ने खालका क्रियाकलापहरुको बारेमा नबोल्नु शिक्षासँग सरोकार राख्ने संघसंस्थाहरुको कमजोरी हो । शिक्षामा वैकल्पिक अवधारणहरु सिर्जना हुनुपर्दछ । स्थानीय सरकारले चाहेको खण्डमा प्रत्येक बालबालिकाको हात हातमा शैक्षिक मनोविज्ञान मागदर्शनका वैकल्पिक साधन र शैक्षिक समाग्रीहरु पुर्‍याउन सकिन्छ त्यो पनि सर्वशुलभ ढङ्गबाट । अहिले शिक्षकहरु घरमा रहनुभएको छ । उहाँहरुले लकडाउनलाई लक्षित गरेर विषयगत वर्कसीटहरुसँगै शैक्षिक मनोविज्ञान मागदर्शनका सामग्रीहरु तयार पार्न सक्नुहुन्छ ।

शिक्षकबाट निमित वर्कसीट वा सामग्रीहरुलाई स्थानीय सरकारको समन्वयमा छपाई गरी त्यी वर्कसीटहरु वा सामग्रीहरुलाई शैक्षिक सहजकर्ता मार्फत प्रत्येक बालबालिकाहरुको हातहातमा पु¥याउन सकिन्छ । वा विद्यालयहरुलाई यो जिम्मेवारी प्रदानगर्न सकिन्छ । पुनःबालबालिकाहरुलाई निश्चित समय उपलब्ध गराएर हल गर्न, सुन्न हेर्न लगाउने र जम्मा गरी शिक्षकहरुबाट परीक्षण गराउन सकिन्छ । जसलाई एक शैक्षिक परियोजनाको रुपमा लिन सकिन्छ । परियोजनात्मक शैक्षिक क्रियाकलपले बालबालिकाहरुको मनोविज्ञानमा बढावा समेत सिर्जना हुन सक्छ । यस्तो कार्य चरणवद्ध रुपमा सञ्चालन गर्नु उपयुक्त मानिन्छ ।

प्रत्येक स्थानीय सरकारमा शिक्षा समिति रहेको छ । जो विद्यालयस्तरको शैक्षिक मनोविज्ञान मागदर्शन सम्बन्धी वैकल्पिक विचार विर्मशका लागि लाग्नुपर्ने आवश्यक छ । शिक्षा समितिको काम परीक्षा लिने र नतिजा प्रकाशन गर्ने मात्र होइन, विपतको बेलामा विद्यालय शिक्षा र विद्यालयस्तरका बालबालिकालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालका छलफल र निष्र्कष निकाल्न पनि हो । अभिभावकहरुलाई यो अवस्थामा परेको असरको बारेमा सोच्नु आवश्यक हुन्छ । रेडियो शिक्षा, टी.भि शिक्षा जस्ता शिक्षाका कार्यक्रमहरुको प्रभावकारिता छ वा छैन ? बालबालिकाहरु प्रत्यक्ष प्रभावित छन् या छैन् ? यस्ता खालका सञ्चालबाट शैक्षिक मनोविज्ञान मागदर्शन बालबालिकाले लिन सकेका छन वा छैनन ? यसको बारेमा समेत अध्ययन गरिनु उचित ठानिन्छ । अब विद्यालयहरु खुल्ने समयमा बालबालिकाहरुका लागि शैक्षिक मनोविज्ञान मागदर्शनको अपरिहार्यता हुन्छ । त्यसैले शिक्षकहरुको आगामी शिक्षण क्रियाकलापहरुलाई प्रभावकारी बनाउनको लागि समेत शैक्षिक मनोविज्ञान मागदर्शन उपयोगी हुन सक्छ । शिक्षक शिक्षिकाहरुले लकडाउनको समयमा घरमै बसेर आगामी दिनको लागि शैक्षिक रणनितिहरु तर्जुमा गर्न सक्नुहुन्छ । त्यसको उपयुक्त वातावरणको सिर्जना गर्दै उपयोगिता र प्रयोजनको बारेमा स्थानीय सरकारले आवश्यक सजकर्तामूखी भूमिका निर्वाह गर्नुपर्छ । वास्तवमा हाम्रो शिक्षामा सोध, खोज, सोंचको अभाव छ ।

हामी शिक्षकलाई दोषी देख्छौँ । तर साधन र स्रोतको व्यवस्थापनमा नविनतम सोचको खाँचो हामीमा रहेको छ । शिक्षा विकास वा सुधारमा शिक्षकको दोषभन्दा पनि परिचालन गर्ने निकायहरुको सोध, खोज, सोचमा देखिन्छ । लकडाउनको समय करिब दुई महिना हुन लाग्यो तर विद्यालय स्तरको शिक्षा सम्बन्धी हाम्रो चासो न्यून देखिन्छ । हामी शैक्षिक दुरी त विसियौ क्यारे सामाजिक वा भौतिक दुरीको बहसमा लागेर । दुई महिना लामो शैक्षिक दुरीका कारण बालबालिका तथा अभिभावकमा मनोवैज्ञानिक, सामाजिक असरहरु प्रष्ट रुपमा देखिन थाले । बालबालिकाहरुमा खालि समयका कारण साेंच नकरात्मक तिर उन्मूख हुने अवस्था देखिन्छ । जसले गर्दा लकडाउनको समापन पछि बालबालिकाहरुलाई शैक्षिक वातावरणसँग घुलमिल बनाउनका लागि गाह्रो हुन सक्छ । त्यसैले समयमै सोच्नु जरुरी छ ।

शैक्षिक मनोविज्ञान मागदर्शनका उपायहरु अबलम्बन गर्नका लागि आवश्यक गृहकार्य गर्नुपर्ने देखिन्छ । शैक्षिक मनोविज्ञान मागदर्शन कुरा गरिरहदा अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई लकडाउनको समयमा विशेष ध्यानदिनुपर्ने हुन्छ । तपाईको बच्चालाई एक्लोपनको महशुस गराउनु हँुदैन । पारिवारिक सामिप्तामा जोड दिनुपर्दछ । बालबालिकालाई विभिन्न खालका मनोरञ्जन गराउनुहोस् । उनीहरुलाई विभिन्न खालका लेख, पत्रपत्रिका, कविता आदिको रचना गर्न लगाउनुहोस् । वाचन गराउनुहोस् । पारिवारदेखि टाढा रहेका परिवारका सदस्यहरुसँग फोनमा वा भिडियोमा कुरा गराउनुहोस् । सक्नुहुन्छ र सम्भव छ भने शिक्षकसँग कुरा गराउनुहोस् । जसले गर्दा उनीहरुको संज्ञानात्मक, भावनात्मक र सामाजिक विकासमा सकरात्मक प्रभाव पर्दछ ।

बालबालिबाहरुलाई शारीरिक व्यायम हुने खालका क्रियाकलापमा सहभागी गराउनु राम्रो मानिन्छ । जसले गर्दा मनोवैज्ञानिक र शारीरिक स्वास्थ्यलाई सहयोग पुर्‍याउनुको साथै तनावका हर्मनहरु पनि घटाउने गर्दछ । बन्दकोठा भित्रमात्र नबसाल्नुहोस् । घरको आँगन वा करेसाबारीमा घुमाउनुहोस् । जसले गर्दा बालबालिबाहरु फ्रेस हुन सक्छन् र आगामी समस्याहरु हल गर्नका लागि सहजहुन सक्छ । बालबालिबाकाहरु सहज रुपमा कोरोनाकहर पछिको वातावरणमा घुलमिल हुन सक्दछन् । घरमा पनि बालबालबालाई शैक्षिक गतिविधिमा सहभागी गराउनु पर्दछ । शैक्षिक मनोविज्ञान मागदर्शनलाई अबलम्बन गर्ने अभ्यास समेत गर्नु उपयोगी सावित हुन्छ ।

(लेखक पाल्पा प्यारागनका प्रिन्सीपल तथा प्याब्सन पाल्पाका कोषाध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update