Shittalpati
बगनासकालीमा व्यक्तिगत घटना दर्ता सचेतना कार्यक्रम

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले व्यक्तिगत घट्ना दर्ता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । व्यक्तिगत घटना सम्बन्धी सचेतना सप्ताह अन्तर्गत पालिकाले सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।  

घट्ना दर्ता सप्ताहको सन्दर्भ पारेर आइतबारदेखि सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन् । उनले भनिन् ‘सरकारले प्रदान गर्ने सेवा सुविधा विस्तार, नीति निर्माणका साथै दोहोरो पनलाई हटाउन घटना दर्ता आवश्यक रहेको छ । यस बारेमा आमनागरिकमा सचेतना जगाउनु आवश्यक छ ।’ पालिकाले वडा ३ बाट कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रमको अध्यक्ष चिदीले शुभारम्भ गरेकी हुन् । उनले कार्यक्रमको शुभारम्भ गर्दै व्यक्तिका व्यक्तिगत घटनाहरू तोकिएको समय अर्थात् घटना घटेको ३५ दिनभित्र अनिवार्य रूपमा दर्ता गराउनुपर्दछ भन्ने सन्देश आमनागरिकमा पु¥याउन जरुरी रहेको बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले व्यक्तिगत घटना दर्ता व्यक्ति र राज्यका लागि महत्वपूर्ण कार्य रहेको बताए । उनले आफुले चाहेको बेला मात्र व्यक्तिगत घटना दर्ता गर्ने अवस्था विद्यमान रहेकाले यो समयमै घटना दर्ता गराउने सन्देश समुदायमा प्रवाह गर्न आवश्यक रहेको उल्लेख गरे । 

लम्सालले घटना दर्ता हेर्दा सरल देखिए पनि यसका नीतिगत कठिनाइका कारण केही समस्याहरू अझै कायम रहेकाले त्यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले घट्ना दर्ता, सामाजिक सुरक्षा र राष्ट्रिय परिचय पत्र सम्बन्धी वृहत अभिमुखीकरण कार्यक्रम आयोजना गरी सहजीकरण गर्न लागेको समेत जानकारी दिए । वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटनाहरू घटना घटेको ३५ दिनभित्र  आ–आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरी कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन गाउँकार्यपालिकाको निर्णय अनुसार कार्यक्रम अगाडि बढाइएको बताए । कार्यक्रममा गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले व्यक्तिगत घटना दर्तामा पालिकाको अवस्था, नीतिगत व्यवस्था, समस्या लगायतका विषयमा जानकारी गराएका थिए । पालिकाले वडा २ पोखराथोकमा समेत सचेतनतामूलक कार्यक्रम गरेको पञ्जिकरण फिल्ड सहायक प्रेमबहादुर बगालेले जानकारी दिए । बैशाख ७ सम्म सबै वडामा पालिकाले कार्यक्रम गर्नेछ । अहिले देशभरका स्थानीय तहहरुले व्यक्तिगत घट्ना दर्ता  सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरेका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सन् २०२४ को अन्त्य सम्ममा सत प्रतिशत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई तथा सम्बन्ध विच्छद) गराउने लक्ष्य राखेकोले सबैलाई सबैखाले घटना दर्ता समयमै गराउन आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update