Shittalpati
गुल्मीको कालीगण्डकीमा वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित

गुल्मी, गुल्मीको कालीगण्डकी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।

कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु दर्लामीले बताईन् । उनका अनुसार गाउँपालिकाको टाढाको वडालाई लक्षित गर्दै सेवा प्रवाह सम्बन्धी घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गर्दै आइएको छ । पालिकाले पहिलो पटक  सोमबार वडा –७ छापचौरमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको छ । हेफर ईन्टरनेशन नेपाल, नेपाल रेडक्रस सोसाईटी, आधुनिक समाज डेण्टल केयर प्रा.लिको प्राविधिक सहयोगमा शिविर भएको हो । 

 पालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर शिविरमार्फत सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न थालिएको वडा अध्यक्ष घनश्याम थापाले बताए ।  शिविरमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा, दन्त उपचार सेवा, पशु सेवा, योजना सम्बन्धी कार्यहरु, पञ्जिकरण सेवा, शैक्षिक परामर्श सेवा, जेष्ठ नागरिक परिचय पत्र वितरण तथा सहायता सामग्री वितरण, गर्भवती सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम लगायतका सेवाहरु एकै ठाउँबाट प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए । 

पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि नागरिकहरु पनि खुसी भएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको स्थानीय ७८ वर्षीय डण्डपानी गौतमले बताए । उनले परिचय पत्र लिनका लागि समेत पालिका जान नसकेको अवस्थामा स्थानीय सरकार आफै आएर दिएकोमा खुसी व्यक्त गरे । अर्का ७६ वर्षीय नेत्रबहादुर ज्ञवालीले पनि औषधी उपचारका लागि पाल्पा र बुटवलसम्म पुग्नुु परेको भन्दै शिविरमै सो सेवा पाउँदा खुसी लागेको बताए । छापचौर स्वावलम्बन महिला समूहकी अध्यक्ष सन्तु थापा क्षेत्री शाहले शिविरबाट तरकारीको बीउ विजन, बाख्रा, कुखुरा र जुकाको औषधी लिएको बताउदै यस प्रकारको शिविर नियमित रुपमा सञ्चालन हुन सकेमा सेवाग्राहीहरुलाई निकै सुविधा हुने बताइन् । 

शिविरमा तरकारीको नर्शरी राख्ने तरिका, जुका , माटे लाग्ने कारण, लक्षण र उपचारको विषयमा राम्रो सँग सिक्न पाएकोमा सेवाग्राहीहरुले खुसी समेत व्यक्त गरेका छन् । शिविरमा ३ सय भन्दा बढीले सेवा लिएको पालिकाले जनाएको छ । –विष्णु प्रसाद पाण्डेको सयोगमा 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update