Shittalpati
नयाँ शैक्षिक सत्रका लागि देशैभर भर्ना अभियान सुरु

पाल्पा, नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का लागि विद्यार्थी भर्ना अभियान देशभर सुरु भएको हो ।

 चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न आह्वान गरे पनि १ गते शनिबार परेकाले आइतबादेखि  नयाँ भर्ना अभियान सञ्चालनमा आएको छ ।  सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर्दै आएको हो ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी विद्यार्थीको भर्ना गर्ने छन् । यसैगरी यही वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यतालिका रहेको छ । अभियानअन्तर्गत यही वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गराइनेछ । वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोसाक र छात्रवृत्ति वितरण गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइने छ ।

यस वर्ष अभियानको पहिलो दिन आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघलाई आग्रह गरेको हो । मन्त्री श्रेष्ठले शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएकाले सबैले सहयोग गर्न आग्रह गरिन् । अभियानकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरे । केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि तीनै तहका सम्बन्धित निकायमा पठाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update