Shittalpati
पूर्वखोला गाउँ सरकारको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत

पाल्पा,जिल्लाको पूर्वखोला गाउँपालिकाको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत हासिल भएको छ । चालु आर्थिक वर्षको श्रावणदेखि फागुनसम्म आठ महिनाको अवधिमा गाउँपालिकाले चालुतर्फ ४६.३१ प्रतिशत र पुँजीगततर्फ ३५.०९ प्रतिशत बजेट खर्च गरी ४३.५ प्रतिशत प्रगति हासिल गरेको हो ।

पालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरी प्रगतिका बारेमा जानकारी गराएको छ । उसले आर्थिक विकासमा ३४.९२ प्रतिशत, सामाजिक विकासमा ४२.३९ प्रतिशत, पूर्वाधार विकासमा ३९.९७ प्रतिशत, सुशासन क्षेत्रमा ४०.६७ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ५३.४१ प्रतिशत रकम खर्च गरेको छ । यसैगरी दोस्रो चौमासिकसम्म विभिन्न उपशिर्षकमा पशु विकासमा ४० प्रतिशत, शिक्षा युवा तथा खेलकुदमा ४९.४९ प्रतिशत, स्वास्थ्यमा ३६.४७ प्रतिशत, कृषिमा ४३.९८ प्रतिशत, गाउँपालिकाको ४२.०८ प्रतिशत खर्च भएको पालिकाले सार्वजनिक गरेको छ । उसले ८ महिनाको अवधिमा १ सय १५ वटा गरिव परिचयपत्र वितरण गरेको, ६ वटा वडामा ३० जना मेलमिलापकर्ताबाट सामाजिक रुपमै विमेल भएका स्थानमा मेलमिलाप अभियान चलाउँदै आएको, चालु आर्थिक वर्षमा पूर्वखोलामा ७ वटा न्यायिक मुद्दा परेकोमा २ वटा मिलापत्र गरेको, दुई वटा जिल्लामा पठाएको, २ वटा प्रक्रियामा रहेको र १ वटा तामेलीमा गएको उल्लेख गरिएको छ । १८ वटा अपा· परिचयपत्र वितरण गरेको, ३० लाख ७१ हजार  राजश्व संकलन भएको, पालिकाभित्र ४५ वटा व्यवसाय दर्ता र १३२ वटा नविकरण भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी गराए । १४ हजार ४ सय ५ पशु, पक्षीहरुमा उपचार, खोप तथा विभिन्न किसिमका सेवा प्रदान गरेको, १० जना गणकहरुलाई किसान सूचीकरणको लागि तालिम प्रदान गरी घर–घरमा खटाएको, ३ हजार ५० कृषकहरुलाई पूर्ण निःशुल्क रुपमा हिउँदे तरकारी मिनिकिट र १ सय ६० किसानलाई तरकारी वितरण गरेको, विरकोट र हेक्ला·मा सिताके र अन्य क्षेत्रमा कन्ये च्याउ अभियान सञ्चालन गरेको, १ सय ८५ किसानलाई ४ सय ५५ केजी तोरीको विउ ५० प्रतिशत अनुदानमा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

पालिका भित्रबाट चालु आ.व.मा ६ सय ६६ जना बेरोजगार सूचीमा सूचिकृत भएका छन् । जहाँ ६९ जनाले १ सय दिनको रोजगारी पाएको बताइएको छ । ८ महिनामा पालिकाभित्र ३ सय २७ जना बच्चा जन्मिएका छन् भने १ सय ५० जनाको मृत्यु भएको छ । १ सय वटा विवाह भएको, २८ वटा सम्बन्ध विच्छेद भएका छन् भने १ सय ५२ जना बसाई गएको र १५ जना आएका छन् । पालिकाभित्र ११ वटा ठेक्काबाट सञ्चालित योजनाहरुमध्ये ३ वटा सम्पन्न, ७ वटा निर्माणाधीन र १ वटा मूल्यांकनको चरणमा रहेका छन् । चालु आर्थिक वर्षमा पूर्वखोलामा ३ सय ४४ वटा योजना रहेकोमा १ सय ७७ वटा योजनाको काम सम्पन्न भएको र १ सय ६७ वटा कार्यान्वयनको चरणमा रहेका छन् । जेठ मसान्तभित्र सबै योजनाको काम पूर्णरुपमा सक्ने पालिकाले जनाएको छ । पालिकामा बालविवाहको समस्या भने अझै हट्न सकेको छैन । पालिकामा पिएनसी जाँच गरेका १ सय १९ सुत्केरी महिला मध्ये १९ जना विस बर्ष मुनीका रहेका छन् भने चालु आवमा १२ जना महिला गर्भवती रहेका छन् । 

पालिकाभित्र फागुन मसान्तसम्म ८ हजार ३ सय ४२ जना नयाँ र ३ हजार ९ सय ४२ जना पुराना विमारीहरुले स्वास्थ्य सेवा लिएका छन् । २ सय जना जेष्ठ नागरिकहरुलाई घर–घरमै पुगी उपचार सेवा प्रदान गरेको, ८० जना सुत्केरीलाई पोषिलो खाना वितरण गरेको, प्रत्येक स्वास्थ्य चौकीमा महिनाको एक पटक निःशुल्क मधुमेह परीक्षण र गर्भवतीहरुलाई निःशुल्क भिडियो एक्सेरे सेवा अभियान चलाएको, पालिकाले जनाएको छ । पालिकामा ६ जना महिला शिक्षक सुत्केरी भएकोमा पठन–पाठनलाई नियमित बनाउनका लागि स्वयमसेवक शिक्षकबाट पठन–पाठनलाई निरन्तरता दिएको, पालिका भित्र कक्षा ११ र १२ मा अध्ययन गर्ने १ सय जना छात्राहरुलाई ३ हजारका दरले छात्रवृति प्रदान गरेको, पालिका भित्र २९ जना अभिभावकविहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री र छात्रवृृत्ति प्रदान गरेको पालिकाले जनाएको छ । 

पूर्वखोला गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई वडा १ सिलुवामा राखेको हो । फरक फरक स्थानका जनताका फरक–फरक आवाज, सुझावा जिज्ञासा, गुनासाहरुलाई सुनी, सोही अनुसार कार्यान्वयनका लागि घुम्ती सार्वजनिक सुनुवाई अभियान शुरु गरेको पालिका अध्यक्ष नुनबहादुर थापाले बताए । सार्वजनिक सुनुवाईमा आएका सुझाव, गुनासाहरुको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, कृषि शाखा प्रमुख सन्तोष कडेल, लेखा शाखा प्रमुख सुमन भट्टराई, शिक्षा संयोजक लोकहरी देवकोटा, इन्जिनियर लक्ष्मण न्यौपाने, शर्मिला चौधरी, लगायतले जवाफ दिएका थिए । कार्यक्रम पालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको स्वागत र पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update