Shittalpati

पाल्पा (रामपुर), कार्यस्थलमा हुने सबै प्रकारका दुर्व्यवहार र लैंगिक हिंसा रोक्न जिल्लाको रामपुरमा प्रतिवद्धता व्यक्त गरिएको छ । रामपुरले नगरपालिकाले आयोजना गरेको कार्यस्थलमा हुने दुर्व्यवहारको आचारसंहिता र लैंगिक नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवाहरुले सबै प्रकारका दुव्र्यवहार र लैंगिक हिंसा रोक्ने प्रतिवद्धता जनाएका हुन् ।

पछिल्लो समय कार्यस्थलमा काम गर्ने कर्मचारी, कामदार तथा सेवाग्राहीहरु असुरक्षित हुने गरेका घटनाहरु बढ्दै गएका बेला रामपुर नगर सरकारले भने त्यस्ता गतिविधि हुन नदिनेप्रति चासो देखाएको छ । कार्यस्थलमा हुने गरेका सबै प्रकारका हिंसाजन्य कार्यहरुलाई कानून बमोजिम दण्डनीय हुने व्यवस्था  भए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्व्यवहार र हिंसाका घटना हुने गरेका छन् । नगर सरकारले कार्यस्थलमा हुनसक्ने हिंसा र दुर्व्यवहार रोक्न आंचारसंहिता बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ । नगर सरकार मातहतका सबै कार्यालयहरुभित्र हुन सक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न जनप्रतिनिधि र कर्मचारीले प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुर्व्यवहारविरुद्ध आचारसंहिता बनाएर कार्यान्वयन गरिने कार्यवाहक नगरप्रमुख बालकुमारी थापाले बताइन् । उनले कार्यस्थलभित्र हुने हिंसा एवं दुर्व्यवहारको परिणामले कर्मचारी तथा श्रमिकमा हुने श्रम मनस्थिति बिग्रिएर विकास निर्माण र योजना कार्यान्वयनमा असर पर्नेतर्फ नगर सरकार सचेत रहेको धारणा व्यक्त गरिन् । कार्यवाहक प्रमुख थापाले लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई समेटेर बजेट निर्माण गर्ने समेत बताएकी छन् । उनले बजेट निर्माण गर्दा सबैलाई समेटेर गरे पनि शिर्षक नमिलाउँदा राज्यका विभिन्न निकायले गर्ने मूल्याङ्कनमा अंक कम आएको उल्लेख गरिन् ।

कार्यक्रममा वडा ९ का वडा अध्यक्ष डिलबहादुर रानाले आचारसंहिता निर्माण गरी लागु गरेर मात्रै हरेक दुर्व्यवहार अन्त्य नहुने भन्दै यसलाई व्यवहारिक रुपमा उतार्न सबैले कार्यान्वयनको पक्षमा ध्यान दिनु आवश्यक रहेको औँल्याए । यसैगरी रामपुर आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलले दुर्व्यवहार गर्न र सहन दुवै नहुने भन्दै यसको न्यूनिकरण र अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रमका स्थानीय तह संयोजक सूर्य किसानले लैंगिक उत्तरदायी बजेट निर्माण, पद्धति, यसको आवश्यकता र महत्वका विषयमा सहजीकरण गरेका थिए । नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख पुजा परियारले कार्यस्थलमा हुने सबै प्रकारका दुर्व्यवहारको आचारसंहिताको विषयमा सहजीकरण गरेकी थिइन् । कार्यक्रममा कार्यालयमा हुने दुर्व्यवहार न्यूनिकरण र अन्त्यका लागि आचारसंहिता र लैंगिक समानता तथा सामाजिक समावेशीकरणयुक्त बजेट निर्माण सम्बन्धी व्यापक छलफल भएको थियो । कार्यवाहक नगरप्रमुख बालकुमारी थापाको अध्यक्षता, महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update