Shittalpati
सहकारीमार्फत दुरदराजका नागरिकको जीवनस्तर सुधारौं : सांसद राना

पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत दुरदराजका नागरिकहरुको जीवनस्तर सुुधार गर्ने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् । शनिबार श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन तथा शुुभकामना आदान–प्रदान कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले अझै पनि दुुरदराजमा रहेका नागरिकहरुको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उनीहरुको जीवनस्तरमा सुुधार ल्याउन सहकारी भूमिका खेल्नुु पर्ने बताएका हुन् ।

उनले गाउँका युवा र महिलाहरुलाई उत्पादन र उद्यमसँग  जोडेर आत्मनिर्भर बनाउन सकियो भने  मात्र मुलुकको समृद्धि हुने बताए । सांसद रानाले भने,‘व्यक्तिको जीवनस्तर सुधार गर्नु अहिलेको आवश्यकता हो, व्यक्तिको अवस्था सुधार भए मात्र समाज र राष्ट्रको अवस्था सुधार हुन्छ ।’ सहकारीले नीति र सिद्धान्नमा रहेर उद्यम र रोगजारीका क्षेत्रमा लगानी गर्न सांसद रानाले आग्रह गरे । सहकारीमार्फत उत्पादनका क्षेत्रमा लगानी गरेर गाउँ बस्तीमा उद्यम र स्वरोजगारका कार्यक्रमहरु गर्न सके  गाउँलाई चहलपहल बनाउन सकिने उनको भनाई छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठले सहकारीले शेयर सदस्यहरुलाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने बताए । उनले नागरिकहरुलाई आयआर्जनसँग जोडी आत्मनिर्भर बनाउने दिशामा ध्यान दिन सहकारीलाई आग्रह गरे ।

कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाली काँग्रेस पाल्पा क्षेत्र नं २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, प्राध्यापक संघका पूर्व केन्द्रीय महासचिव केशवराज शर्मा, शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्याल, नेपाल ट्रेड युनियन पाल्पाका पूर्व  सचिव टुुनवीर रेस्मी लगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारीले विगतमा जस्तै यस वर्ष पनि नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचनसँगै शुुभकामना आदान–प्रदान गरेको सहकारीका व्यवस्थापक डोलराज अर्यालले जानकारी दिए । संस्थाका अध्यक्ष झमनबहादुर राज मगरको अध्यक्षता, कोषाध्यक्ष शान्ति झेडी थापाको स्वागत, सचिव देवी प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update