Shittalpati
बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न गरेका छौं : मन्त्री शर्मा

पाल्पा, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यममा विज्ञापन कारोबारका क्रममा देखिएका बेथिति रोक्न विज्ञापन नियमावली संशोधन गरेर व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी छन् । शुक्रबार तानसेनको मदनपोखरामा रहेको सामुदायिक रेडियो मदनपोखरा एफ.एमको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन गरेर विज्ञापन व्यवस्थित गर्ने पर्यत्न भइरहेको बताएकी हुन् ।

मन्त्री शर्माले भनिन् ‘विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर संघीय सरकार मातहतका विज्ञापन व्यवस्थित गर्ने पर्यत्न सुरु गरिएको छ । प्रदेश र स्थानीय सरकारले पनि  विज्ञापन कानुन दर्जुमा गरेरै भए पनि स्थानीय विज्ञापन स्थानीय मिडियाकै प्राथमकितामा राख्ने व्यवस्था मिलाउनुपर्दछ ।’

उनले स्थानीय विज्ञापन स्थानीय मिडियाकै प्राथमिकतामा राख्ने व्यवस्था मिलाउनु अहिलेको आवश्यक रहेको उल्लेख गरिन् ।  मन्त्री शर्माले भनिन् ‘संविधानले दिएको अधिकार प्रयोग गरेर सबै स्थानीय र प्रदेश सरकारले विज्ञापन कानुन दर्जुमा गरेर स्थानीय विज्ञापन स्थानीय मिडियाकै प्राथमकितामा राख्नुपर्ने व्यवस्था मिलाउन जरुरी छ ।’ संविधानले आमसञ्चार क्षेत्रको निमयमनको पाटोलाई संघीय सरकारको दायित्वभित्र राखे पनि प्रवद्र्धनको सवालमा तीनै तहका सरकारको अधिकारसूचिमा राखेको मन्त्री शर्माले उल्लेख गरिन् । उनले संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल देखिएको भन्दै यसलाई चिर्दै जतिसक्यो चाँडो आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार लागिरहेको जानकारी दिइन् ।

मन्त्री शर्माले आमसञ्चार क्षेत्रको छाता कानुनको रुपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रीपरिषदमा लैजाने तयारी रहेको उल्लेख गर्दै मिडिया काउन्सिल विधेयक मन्त्रीपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने  प्रक्रिया अघि बढाएको बताईन् । ‘सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । आमसञ्चार ऐन र मिडिया काउन्सिल विधेयक प्रक्रियामा अघि बढाएका छौं’ उनले भनिन्, ‘यी कानुुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आमसञ्चार क्षेत्रको पुनःसंरचनामा सहयोग पुग्ने विश्वास सरकारको छ ।’ मन्त्री शर्माले सञ्चारमाध्यमको सबलीकरण र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षा र आमसञ्चार क्षेत्रमा समावेशीकरणको सवाललाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको  बताईन् । उनले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको जानकारी दिँदै अन्य सुधारको कामको थालनी गरेको  बताएकी छन् ।  मन्त्री शर्माले आमसञ्चारका क्षेत्रमा कतिपय सानाजस्ता देखिने तर सेवाग्राहीलाई असहज हुने गरेका क्षेत्रमा पनि सुधारको थालनी गरिएको उल्लेख गरिन् । उनले भनिन् ‘सूचना विभागबाट जारी हुने प्रेस प्रतिनिधिको अवधि तीन वर्ष बनाउने, एफएम रेडियोको नवीकरण अनलाइनबाटै गर्नेलगायतका सुधारात्मक कार्य थालिएको छ भने सञ्चारमाध्यम दर्तालगायतका सन्दर्भमा आवश्यक कागजात एकीकृत रूपमा अनलाइनमार्फत लिने व्यवस्था मिलाउन र साना साना कामका लागि पनि काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक गृहकार्य थालिएको छ ।’ उनले सञ्चारमाध्यम सरकार र जनताका बीचमा पुलको काम गर्ने माध्यम हुनुपर्ने र जनताका गुनासा सरकारसमक्ष पुर्‍याउने र सरकारले गरेका राम्रा काम जनतासमक्ष पुर्‍याउने भूमिका खेल्न आग्रहसमेत गरिन् ।

कार्यक्रममा संघीय सांसद ठाकुुर गैरेले ग्रामीण क्षेत्रमा स्थापित रेडियोले समाजिक, राजनीतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले अब समृद्ध र सुखी जीवनका लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश रेडियोले प्रवाह गर्न आवश्यक  रहेको उल्लेख गरे । सांसद गैरेले सविधानको रक्षा र कार्यान्यवय गर्ने दिशामा समेत सञ्चार माध्यमले ध्यान दिनुुपर्नेमा जोड दिए । अर्का संघीय सांसद नारायण आचार्यले सामाजिक, राजनीतिक जागरण ल्याउने काममा रेडियोले खेलेको भूमिकाको प्रशंसा गरे ।  उनले आगामी दिनमा पनि जनताको आवाज बुलन्द  गराउने कुरामा निरन्तर लाग्न रेडियोलाई आग्रह  गरे ।  

कार्यक्रममा  राष्ट्रिय  सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, लुुम्बिनी प्रदेश सभा सदस्य खेम सारु, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले रेडियोको सफलताको शुभकामना व्यक्त गरे । रेडियोका कार्यकारी निर्देशक गुणाकर अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुुत गरेका थिए । रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता,सल्लाहकार सोमनाथ अर्यालको स्वागत, निवर्तमान रेडियो प्रवन्धक राजेश कुमार अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा रेडियोमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update