Shittalpati
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने

पाल्पा, दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यलय पाल्पाको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा तानसेनमा भएको उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताएका हुन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले उपभोक्ताको अधिकारको व्यवस्था गरेता पनि बजारमा लागु हुन सकेको छैन । दुषित र न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री गरेका वा झुक्याई दुषित खाद्य पदार्थ विक्री गरेमा कानुनमा ५ वर्ष कैद ५० हजार जरीमाना वा दुवै सजाय हुने व्यवस्था भएता पनि सम्बन्धित निकायले दण्ड जरीवाना नगर्दा बजारमा छ्यापछ्यापती गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको सहभागीहरुको गुनासो छ । उनीहरुले गुणस्तरहिन खाद्यवस्तु विक्री गर्नेहरुलाई कानुनी कारवाही नगर्दा थप प्रश्रय पाउने गरेको भन्दै कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले भन्सारबाट चेकजाँच र ल्यावटेस्ट नगरी फलफुल र खाद्यवस्तु आयात हँुदा त्यसले स्वास्थ्यमा नकारात्मक असर परेको बताए । उनले स्थानीय सरकारले समन्वय गरी गुणस्तरहिन भनि समातिएका वस्तुहरु ल्यावटेस्ट र चेकजाँच स्थानीय स्तरमै गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । पाल्पा व्यापार सघंका अध्यक्ष बामदेव बस्याल, जिल्ला प्रशासन कार्यलयका अधिकृत यज्ञश्वर पन्थी, उपभोक्ता टंक न्यौपाने लगायतले खाद्य ऐन २०७३ लाई कडाईका साथ लागु गर्नुपर्ने जोड दिदैँ उपभोक्ता सचेत भई स्वास्थ्यको ख्याल राख्नु पर्ने बताए । उनीहरुले लापरवाही गरी गुणस्तरहिन सामान बेच्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याए मात्र सचेत हुने उल्लेख गरे ।

कार्यक्रममा उद्योग तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ शाखा अधिकृत टुकराज पाण्डे र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका खाद्य अनुसन्धान अधिकृत नरेश श्रेष्ठले सहजीकरण गरेका थिए । उनीहरुले सहजीकरण गदैँ जथाभावी विज्ञापन  गरिदा स्वास्थ्यका लागि हानिकारक खाद्यवस्तु विक्री वितरण हुने हुदाँ उपभोक्तताहरु सचेत रहनु पर्ने बताए । कार्यक्रममा उपभोक्ता सुरक्षा, छनोट, सूचना, स्वच्छ खाद्य वस्तु र क्षतिपूर्तिको अधिकार भएपनि व्यवहारमा लागु नभएको बताइएको छ । उपभोक्ताले किन्ने वस्तुमा लेवल र उत्पादन भएको स्पष्ट नभएमा उपभोक्ताले सम्बन्धित निकायमा उजुरी गरेमा विक्रेतालाई कारवाही हुने तर उपभोक्ताको उजुरी नआउने गरेको सम्बन्धित निकायका जिम्मेवारी व्यक्तिले बताए । घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख श्यामकुमार पौडेलको अध्यक्षता कार्यालयका अधिृकत थमनबहादुर सारुको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य  संघ र पाल्पा व्यापार संघका सदस्यहरु र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update