Shittalpati
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बहुमत नजुट्ने देखेपछि बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए । बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले  अन्ततः बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा राजीनामा दिन बाध्य भए । उनले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । सम्बोधनका क्रममा मुुख्यमन्त्री चौधरीले संघीय संरचना अनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । अहिलेको राजनीतिक उथलपुथल र एक अर्काप्रति लाञ्छना लगाएर देशको विकास हुन नसक्ने र संघीयता नै धरापमा पर्ने उनले बताए ।

उनले प्रदेश सरकारको स्थायित्वको जरुरी रहेको बताए । ‘स्थायित्व भएन भने कुनै पनि विकास र समृद्धि अघि बढ्न सक्दैन,’ उनले भने, ‘हामी जनताकोमा ठाडो शिर लिएर जाने गरी काम गर्न सकेनौं भने औचित्य पुष्टि हुनै सक्दैन ।’ बैठकमा बोल्दै मुख्यमन्त्री चौधरीले आफ्नो ११ महिने कार्यकालमा गरेका विकासका काम र सुरु गरेका प्रयासहरुको विषयमासमेत जानकारी गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update