Shittalpati
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम

पाल्पा, रामपुरमा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम भएको छ । सहकारी दिवसको अवसरमा रामपुर नगरपालिकाको आयोजनामा सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहकारीप्रति जनताको विश्वास कम हुँदै गएकाले सुधार्न आवश्यक रहेको बताए । उनले सहकारी संस्थाहरु सहकारीको मर्म र भावना अनुसार चल्न नसक्दा सहकारीमा विकृति सिर्जना भएको भन्दै यसका लागि सञ्चालक समिति र व्यवस्थापकले ध्यान दिनुपर्ने जानकारी दिए । नगर प्रमुख थापाले नगरपालिका भित्रका सहकारी संस्थाको प्रवद्र्धन र विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको र एउटै उद्देश्य रहेका सहकारीहरु मर्ज गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले सहकारी संस्थाको सही व्यवस्थापन र सञ्चालनका लागि सञ्चालक समिति र व्यवस्थापकले ध्यान दिन आग्रह गरिन् । उनले हरेक सहकारीले लगानी गर्दा सही क्षेत्र र व्यक्तीलाई लगानी गर्नुपर्ने बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले अन्य देशमा सहकारीको माध्यमबाट विकासले फड्को मारे पनि नेपालमा सोँचे अनुरुप विकास हुन नसकेको उल्लेख गरे । सहकारी गरिब जनताले अपनत्व ग्रहण गर्ने गरी घर घरमा पुग्न नसक्नु दुर्भाग्य भएको भन्दै उनले सहकारीलाई सबैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताए । 

यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा १ का अध्यक्ष कपिलबहादुर खाँणले संख्यात्मक रुपमा सहकारी बढी भएपनि गुणात्मक रुपमा सुधार्न आवश्यक रहेको बताएका छन् । उनले नगरपालिका भित्रका हरेक सहकारीलाई पुँजीको सही परिचालन गर्न आग्रह समेत गरे । नगरपालिका भित्रका सहकारी संस्थाका सञ्चालक समितितका अध्यक्ष, सचिव र लेखा समितिका संयोजक गरी ७५ जनाको सहभागिता रहेको कार्यक्रममा रामपुर नगरपालिकाका रोजगार शाखा प्रमुख तथा सहकारी शाखाका संयोजक गणेशप्रसाद रेग्मीले सहकारीको इतिहास, नेपालमा सहकारीको वर्तमान अवस्था, सहकारी सचेतना लगायतका विषयमा सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागीले नगरपालिका भित्रका सहकारीको नियमन गर्नुपर्ने, सहकारी संस्थाहरुको विकास र कार्यक्रम सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका थिए । रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवी भण्डारी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यता, नगर प्रवक्ता एवं वडा १ का अध्यक्ष कपिलबहादुर खाँणको स्वागत र महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update