Shittalpati
अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग

पाल्पा, तानसेनको मदनपोखरामा जन्म भई अमेरिका बसोवास गर्दै आएका मदनपोखरावासीहरुले सामुदायिक रेडियो मदनपोरा (सारेम)लाई आर्थिक सहयोग पठाएका छन् । उनीहरुले अमेरिका मदनपोखरा समाजमार्फत २ लाख ९२ हजार २ सय २० रुपैँया सारेमलाई पठाएका हुन् ।

समाजले रेडियोको रजत महोत्सवका अवसरमा मदनपोखरावासीहरुले अमेरिकामा मुष्ठिदानमार्फ्त संकलित गरेको रकम रेडियोलाई पठाएको रेडियोका पूर्व प्रवन्धक तथा वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । समाजले मनिग्राममार्फत् पठाएको उक्त रकम वडा अध्यक्ष अर्यालले रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गरे । रकम ग्रहण गर्दै समितिका अध्यक्ष जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाइ दिदीबहिनीहरूले जन्मस्थान र रेडियोप्रतिको मायाले रजत महोत्सवका अवसरमा मुष्ठिदानमार्फ्त आर्थिक सहयोग उपलब्ध गराएकोमा सबैलाई आभार र धन्यवाद ज्ञापन गरे । उनले भने, ‘तन अमेरिकामा छ, मन नेपालमा छ । यो नै देशप्रतिको माया हो ।’

२०५५ सालमा मदनपोखरामा स्थापित रेडियोले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सव आयोजना गरेको छ । यो दक्षिण एशियाको पहिलो गाउँले सामुदायिक रेडियो हो । सारेमका कार्यकारी निर्देशक गुणाकर अर्यालले आफू विदेश भएता पनि स्वदेशको रेडियो प्रतिको चासो र चिन्ता लिनेहरू धन्यवादका पात्र रहेको बताए ।  

रेडियोले स्थापनाकालिन समयमा स्वामित्व र सहभागिता विषयक अन्तक्र्रिया गर्ने क्रममा बन्दिपोखराका टुकलाल खातीले रेडियोको दिगोपनका लागि मुष्ठिदान चलाउनुपर्ने सुझाव दिएका थिए । त्यसपछि रेडियोले समुदायबाट मुष्ठिदान र सामुदायिक वन उपभोक्ता समूहबाट दाउरा दान अभियान सञ्चालन गर्दै आइरहेको छ । अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि संझना भइरहने र रजतमहोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको बताए । ‘अमेरिकामा बस्ने २३ जना मदनपोखराका व्यक्तिले तत्काल रकम पठाएका छौँ, अरु साथीहरूले पनि पठाउँदै जानुहुनेछ,’ घिमिरेले भने ।

सारेमको चैत्र २२ गते पुनर्मिलन कार्यक्रम र चैत्र २३ गते रजतमहोत्सव समारोहको आयोजना गरेको छ । महोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा प्रमुख अतिथि रहेको कार्यकारी निर्देशक अर्यालले जानकारी दिए । 

 सोही महोत्सवका लागि  समाजले आर्थिक रकम संकलन गरी पठाएको हो । रकम पठाउनेहरूमा विष्णु पाठक, शेषकान्त खनाल, नेत्र पाण्डे, डा.गिरीराज घिमिरे, यादव खनाल, डा.सन्दीप पाण्डे, गणेशबहादुर भट्टराई, सुन्दर घिमिरे, गोविन्द घिमिरे, हरि बस्याल, भानुभक्त घिमिरे, खेमराज पाण्डे, बावुराम देवकोटा, प्रमिना अर्याल, राधा भट्टराई, विनोद रेग्मी, विनोद भण्डारी, गीता जिसी, गोपाल जिसी, सपना पाठक, सुरज घिमिरे, नारायण अर्याल र युवराज खनाल रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update