Shittalpati
रामपुरका सहकारी संस्थालाई तालिम

पाल्पा, जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

बिहीबारदेखि तालिम सुरु भएको छ । तालिमको एक  औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हरेक सहकारीले  उत्पादनको क्षेत्रमा ऋण प्रवाह गर्न आग्रह गरे । उनले नगरभित्र सञ्चालित सहकारीले लगानी गर्दा लगानी गर्नका लागि मात्र नभएर उत्पादन र ऋणको सही सदुपयोग गर्न सक्ने आधार यकिन गरेर मात्र लगानी गर्न आवश्यक रहेको उल्लेख गरे । नगर भित्रका हरेक सहकारीको कार्य सम्पादन अनुगमन गर्ने भन्दै नगर प्रमुख थापाले सहकारी संस्थाको प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममा सहकार्य गर्न सहकारी संस्थाहरुलाई उनले अनुरोध समेत गरे । कार्यक्रममा रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवि भण्डारी गौतमले नगरवासीको आर्थिक समृद्घिका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे । ३ दिनसम्म चल्ने तालिमको सहजीकरण रामपुर नगरपालिकाका रोजगार शाखा संयोजक गणेश प्रसाद रेग्मीले गरिरहेका छन् । तालिममा रामपुर नगरपालिका भित्रका २१ जनाको सहभागिता रहेको छ । नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गादेवी भण्डारी गौतमको अध्यक्षता, महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update