Shittalpati
  मनाइयो पाल्पाली ढाका दिवस 

पाल्पा, ढाको राजधानी पाल्पामा पाल्पाली ढाका दिवस मनाइएको छ । पाल्पाली ढाका संघले सोमबार तानसेनमा एक कार्यक्रमका बिच दोस्रो ढाका दिवस मनाएको हो । २०७८ चैत १२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाल्पालाई ढाकाको राजधानीको रुपमा घोषणा गरेको थियो । राजधानी घोषण गरेको दिनका रुपमा हरेक वर्ष चैत १२ गते पाल्पाली ढाका दिवस मनाउन थालिएको हो ।

दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद ठाकुुर गैरेले पाल्पाली ढाकालाई ब्राण्डिङ र गुणस्तरीय बनाउने कुरामा ध्यान दिन जिल्लाका उद्यमी व्यवसायीहरुलाई आग्रह गरे । उनले नेपालमा केही छैन भनि विदेश जानै पर्छ भन्ने सोचलाई तोड्न ढाका जस्तो उद्योगलाई थप ब्राण्डिङ गरी त्यसको विस्तार गर्नु जरुरी रहेको धारणा व्यक्त गरे । सांसद गैरेले माल पाएर पनि चाल पाउन नसक्नु दुखद् भएको बताए । उनले भने ‘बेला –बेलामा ढाका उद्योगका लागि बजेट आउने गरे पनि खर्च गर्ने क्षमता राख्न नसक्नु  हाम्रो कमजोरी हो ।’ राजनीतिक दल, जनप्रतिनिधिहरुको हुट हुटीले मात्र व्यवसायी विस्तार हुन नसक्ने भएकाले व्यवसायी आफै सक्रिय भएर लाग्न उनले उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले पाल्पाली ढाका र करुवाको प्रवद्र्धनमा प्रदेश सरकारले योजना बनाएर काम गरेको बताए । उनले तालिम सञ्चालनदेखि उद्यमी प्रोत्साहनका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सांसद रानाले ढाका पाल्पामा उत्पादन गरेको भन्ने तर बिच बिचमा बाहिरबाट ल्याएर विक्री गर्ने गरेको भन्ने गुनासो आउने गरेकाले त्यसतर्फ सचेत हुुन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे । उनले स्थानीय उत्पादनको कसरी बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकारसँग बसेर बहस र छलफल चलाउन ढाका संघलाई आग्रह गरे ।  तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ढाका उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रम नगर सरकारले ल्याएको बताए । उनले ढाकाको क्षेत्रमा प्रदेश सरकारसँगको सहकार्यमा काम गर्दै आएको  धारणा व्यक्त गरे । 

पाल्पाली ढाका उत्पादक सहकारी संस्थाका उपाध्यक्ष  हरि रायमाझीले पाल्पाली ढाकाको नाममा गणेशमान महर्जनको नाम जोडिएको बताए । उनले जबसम्म पाल्पाली ढाका रहन्छ तब सम्म गणेशमान महर्जनको योगदान रहिरहने धारणा व्यक्त गरे । रायमाझीले ३ /४ सय जनालाई तालिम दिएर अहिले व्यवसायिक रुपमा  लागेको बताए । स्थानीय प्रदेश र संघीय सरकारको सहयोग भएमा प्रदेशलाई पाल्पाली ढाकामय बनाउन सकिने उपाध्यक्ष रायमाझीको भनाई छ । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत थमन सारु, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले पाल्पाली ढाकाको इतिहास र गरिमालाई जोगाइराख्न स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । संघका अध्यक्ष पूर्णमाया महर्जनको अध्यक्षता, कार्यक्रम संयोजक सागरमान महर्जनको स्वागत सचिव मनोज पौड्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update