Shittalpati
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य

पाल्पा, लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र रेमिट्यान्सको भर पर्नु नपर्ने बताएका छन् । शनिबार ग्रीन फर गुड नेपालले तानसेनमा आयोजना गरेको कार्यक्रममा सकरात्मक सोंच, पर्यापर्यटनका बारेमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो बताएका हुन् ।

उनले कृषि, पर्यटन र स्वास्थ्यका क्षेत्रमा प्रचुर सम्भावना भएकाले त्यसको बढी भन्दा बढी उपयोग गरी आयआर्जन गर्न सके विदेशी रेमिट्यान्समा भर पर्नु नपर्ने धारणा व्यक्त गरे । ‘हामी कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र विदेशबाट रेमिट्यान्सको भर पर्नु पर्दैन’ शाक्यले भने, ‘वातावरण संरक्षण गर्दै पर्यटनको क्षेत्र विस्तार गर्न सांस्कृतिक र प्राकृतिक मुहान जोगाउन आवश्यक छ ।’ उनले पर्यटन क्षेत्र फराकिलो क्षेत्र भएकाले यसमा पूर्णविराम नलाग्ने भन्दै यस क्षेत्रको विस्तारका लागि निरन्तर व्यक्तिको व्यवसायिक शैली र सोचमा परिवर्तन आवश्यक हुनेमा जोड दिए । आन्तरिक पर्यटन भनेकै अन्तर्राष्ट्रिय पर्यटनको जग भएकाले आन्तरिक पर्यटन प्रर्वद्धनतर्फ स्थानीय सरकार र सरोकारवालाहरु नै लाग्नुपर्ने शाक्यको भनाई छ ।

कार्यक्रममा  प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले आफ्नो सामथ्र्य चिन्न सके परिवर्तन सम्भव भएको औंल्याए । ‘परिवर्तनको थालनी आफैंबाट गरे सम्भव छ । तर हामी आफ्नै सामथ्र्य चिन्न नसक्दा पछाडी परिरहेका छौं’ गैरेले भने, ‘प्राचीन सम्पदालाई वर्तमान समृद्धिसँग जोड्न आवश्यक छ ।’ जलवायु परिवर्तनको असरले समाजमा भएको स्वच्छ वातावरण र सम्पदा विनासतर्फ गएकाले संरक्षणका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबाट सामुहिक प्रत्यत्न आवश्यक रहेको उनको भनाई छ । लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले संयमता र धैर्यले व्यक्तिलाई महान बनाउने भन्दै सकरात्मक दृष्टिकोणबाट सम्पदा र संस्कृति संरक्षणमा सरोकारवाला निकायले प्रण गर्न आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, रेडा पाल्पाका निर्देशक लिला कार्की लगायतले कर्ण शाक्यको सकरात्मक सोचको अनुभवलाई विकास र समृद्धिसँग जोड्न आवश्यक रहेको बताए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्ति बस्यालले कर्ण शाक्यको बारेमा संक्षिप्त चर्चा गरेकी थिइन् ।संस्थाका अध्यक्ष धनिश्वर बस्यालको अध्यक्षता, सदस्य दोर्ण बस्यालले संस्थाको गतिविधि,उपाध्यक्ष भेषराज सुवेदीको स्वागत , सचिव गंगाबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update