Shittalpati
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही

पाल्पा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरुले छुट्टाछुट्टै सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले होलीका अवसरमा लोला हान्ने, पानी छ्याप्ने, जथाभावी रंग दल्ने, बाटोमा ढुकेर बाटो हिड्नेहरुलाई रंग लगाईदिने, सडक अवरोध गरेर सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक कार्य नगर्न अनुरोध गरेको छ । प्रशासनले सूचना निकालेर यति कोही कतै अराजक गतिविधि गरेको पाइएमा कानुनी कारवाही गर्ने जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको छ । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न भनेको छ । कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने समेत प्रहरीले जनाएको छ । प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ । रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न  पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update