Shittalpati
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता

पाल्पा, गर्मी महिनाको आगमनसँगै तानसेनका उपभोक्ताहरु आगलागी रोकथामका लागि वन सरसफाइमा जुटेका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्र पलाएको झारपात, साना बिरुवा, हाँगाबिगा, पातपतिङ्गर सरसफाइ सुरु गरेका हुन् ।

तानसेनको शिरमा रहेको श्रीनगर वनमा आवद्ध उपभोक्तहरू वनको झारपात सरसफाइ गर्न जुट्ने गरेका छन् । उनीहरू हसिया, कोदालोलगायतका घरेलु हतियार लिएर सरसफाइमा जुट्ने गरेका हुन् । गर्मी महिना शुरु भएसँगै दिनहुँ आगलागी तथा वन डढेलोका घटनाहरु बढ्दै गएका छन् । आगलागीबाट केही व्यक्तिको जलेर मृत्यु भएको छ भने करोडौको धनजनको क्षतिका घटना घटेका छन् । श्रीनगर जंगल सल्लै सल्लाले भरिएको जंगल हो । यहाँ प्रत्येक वर्ष भईरहेको आगलागीको घटनाले सिङ्गो जिल्लालाई तनाव दिने गरेको छ । यस वर्ष आगलागी हुन नदिन र भइहाले पनि क्षति हुन नदिन सदरमुकाम तानसेनबाटै श्रीनगर जंगलका बिच भागका गोरेटो बाटाहरुमा  अग्निरेखा बनाउनुको साथै पात पतिङ्गर संकलनमा उपभोक्ता कस्सिएका छन् । फोहोरको थुप्रो बनाउने र उपभोक्ताको निगरानीमा जलाउने गरिएको छ । ‘वन जोगाउने उपभोक्ताबाटै हो, उपभोक्ता जागरुप सक्रिय भए वन जोगिन्छ, आगलागी भईहाले पनि निभाउन उपभोक्ता नै खटिनु पर्छ, त्यसैले आगलागी भएर खटिनु भन्दा आगलागी हुन नदिनको लागि हामी वनमा हिड्डुल गर्ने बाटाको तल माथि भएका पात संकलन गर्ने, बाटो सफा बनाउने अभियानमा जुटेका छौं’ भुसालडाँडाका वन उपभोक्ता देवीदत्त शर्माले भने ।

अहिले जिल्लामा पनि छिटपुट रुपमा आगलागीका घटनाहरु सुनिन थालेका छन् । यो वर्ष पाल्पाको ५ वटा सामुदायिक वनको ४० हेक्टर क्षेत्रफलमा आगलागी भईसकेको छ । विशेषगरी सल्लाको जंगलमा बाक्लो रुपमा पात झरिसकेको छ, आगलागी पनि छिटो हुने भएकाले सबैघरका उपभोत्ताहरु आ–आफ्नो कुटो कोदालो, हसिया, फरुवा, लगायतका सरसमान सहित श्रीनगर जंगलमा खटिएको उकाले पिपल सामुदायिक वन उपभोक्ता समितिका सचिव विष्णु बस्यालले बताए । उपभोक्ताको सक्रियता तथा सचेतनाका कारण वन डढेलो तथा आगलागीका घटनाहरु नियन्त्रण गर्न सजिलो भएको छ । वन उपभोक्ताहरुलाई एकिकृत गरेर श्रीनगर वनको कैलाशनगरदेखि भुसालडाँडासम्मको वन क्षेत्रमा अग्निरेखाहरु बनाईएको छ । बाटाहरुमा झरेका पात पतिङ्गर सफा गरिएको छ । वनमा डढेलो लागेर आगो निभाउन खटिनु भन्दा आगलागीका घटना हुनै नदिने गरी सचेतनाका अभियानलाई प्रभावकारी बनाउन वनका उपभोक्ताहरु जुटेको एकिकृत श्रीनगर सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष सुनिता शर्माले बताइन् ।

 डिभिजन वन कार्यालय पाल्पाले गर्मी महिना सुरुवातसंगै पहिलो चरणमा वन उपभोक्ताहरुमा सचेतना अभियान चलाएको छ । आगलागीका घटनाहरु नियन्त्रण गर्ने प्रमुख उपाय नै वन जंगलमा अग्निरेखा बनाउने, झरेका पात पतिङ्गर संकलन गर्ने, र  आगलागीको जोखिम कम भएको स्थानमा लैजाने वा निगरानीमा सोही स्थानमा जलाउने भएकाले सोही अनुसार उपभोक्ताहरु परिचालन गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख वन अधिकृत नारायणदेव भट्टराईले बताए । वन डिभिजनको सचेतना अभियानमा उपभोक्तासँंगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सहयोग गरेका छन् । तानसेनको श्रीनगरबाट शुरु भएको यो नौलो अभियानलाई जिल्लाभरीका सामुदायिक वनहरुमा लागु गरिने प्रमुख भट्टराईले बताए ।

डिभिजन वनले डढेलो जोखिम कम गर्न  जनचेतना अभियान  अन्तर्गत जिल्लाका सरोकारवाला निकाय, प्रहरी प्रशासनदेखि उपभोक्ताहरु सचेत तथा जागरुक बनाएको छ । सब डिभिजन वन कार्यालय मार्फत पाल्पाका १० वटै स्थानीय तहका सामुदायिक वनका सबै उपभोक्ताहरुलाई आगलागीका घटना हुन नदिन, भइहालेमा अपनाउनुपर्ने अवस्थाको बारेमा छलफल अन्तक्र्रिया मार्फत सचेतनाको अभियान सञ्चालन भइरहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकृत संयोग बस्नेतले बताए । वन डढेलो नियन्त्रण अभियानका हरेक सचेतना कार्यक्रमदेखि वन जंगलमा अग्निरेखा बनाउने, झरेका पात पतिङ्गर संकलन तथा जलाउने काममा उपभोक्तांसँगै हामी वनका कर्मचारी, चार वटै तहका सुरक्षाकर्मीहरु पूर्णरुपमा खटिएका छौं, सबै पक्षको मिलेमोतोमा भएको प्रभाव राम्रो र दीर्घकालीन हुने श्रीनगर वन क्षेत्रमा अग्निरेखा निर्माणमा खटिएका वन अधिकृत रामचन्द्र लामाले बताए ।

जिल्लामा आगलागी तथा डडेलोको अति जोखिममा तिनाउ गाउँपालिकाको कचल, दोभान, झुम्सा, कोल्डाडाँडा गरी ४ वटा वडा, रिब्दीकोटको गाउँपालिकाको देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे गरी ५ वटा वडा, रैनादेवी छहरा गाउँपालिकाको सोमादी, भुवनपोखरी, छहरा, जुठापौवा गरी ४ वटा वडा,  माथागढी गाउँपालिकाको झडेवा, हात्तीलुङ, गोठादी र रहवास गरी ४ वटा वडा, पूर्वखोला गाउँपालिकाको जल्पा, रिङनेरह, बीरकोट गरी ३ वटा वडा  पनि जोखिममा रहेका छन् । तानसेन नगरपालिकाको श्रीनगरडाँडा, बौघापोखराथोक, बोघागुम्हा, बन्दीपोखरा गरी ५ वटा वडा अति जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी बस्नेतले बताए । पाल्पाका ८१ वटा वडाहरुमध्ये २७ वटा वडा अति जोखिम, २९ वटा वडा मध्यम जोखिम र २५ वटा वडा न्यून जोखिममा रहेको डिभिजन वन कार्यालयले गरेको अध्ययनबाट देखिएको रेञ्जर यमलाल पोखरेलले बताए । अति जोखिम, मध्यम जोखिम र कम जोखिम क्षेत्र अनुसार वन उपभोक्ताको परिचालन सचेतना तथा आगलागी नियन्त्रणका बारेमा डिभिजन वन कार्यालयले कार्ययोजना बनाएर काम गर्दै आएको रेञ्जर पोखरलको भनाई छ ।

पाल्पामा बढी सल्ला र सालको जंगल, तराईसंग सिमाना जोडिएका नवलपरासी, रुपन्देही र कपिलबस्तु क्षेत्रका जंगलहरुमा वर्सेनी आगो लाग्दै आएको छ । वन जंगलमा आगलालीका घटना  ९६ प्रतिशत मानवीय कारण हुँदै आएको छ भने  १ प्रतिशत प्राकृतिक कारण  लाग्ने गरेको र ३ प्रतिशत विविध कारणबाट लाग्ने गरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा ७ सय १ वटा सामुदायिक, १ सय ४० वटा कवुलियती वन र ४ वटा धार्मिक वन रहेका छन् ।

जिल्लाभर तानसेन नगरपालिकाको मात्र एउट दमकल रहेको छ । जिल्लामा आगलागी हुँदा एउटा दमकलको मात्र प्रयोग हात्तीको मुखमा जिरा जस्तै भएको छ । मानसिले जानीजानी आगो लगाउने, लापरवाही तरिकाले आगो लगाउने, आनन्द तथा मजा लिनको लागि आगो लगाउने व्यक्तिहरुको गोप्यरुपमा सूचना दिन र उनीहरुलाई कानुनी कारवाहीदेखि क्षतिपूर्ति भराउने सम्मका काम डिभिजन वन कार्यालयले गर्ने डिभिजन वन अधिकृत भट्टराईले वन उपभोक्ताहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update