Shittalpati
आज विश्व पानी दिवस, नेपालमा पनि मनाइँदै

पाल्पा, विश्व पानी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन यो विश्वभर मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी दिवस मनाइँदैछ । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । यस वर्षको पानी दिवसको नारा ‘शान्तिका लागि पानी’ रहेको छ । पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ ।

पृथ्वीको दुई तिहाइ भू–भाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोत कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतसमेत प्रदूषित भएका छन् । स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व पानी दिवस मनाउन थालिएको हो । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update