Shittalpati
मोहन कन्याका विद्यार्थीलाई आत्मरक्षा तालिम

मन गहिरे

पाल्पा, पछिल्लो समय हिंसा, बलात्कार जस्ता अपराधिक गतिविधीहरु बढीरहेका बेला जिल्लाको तानसेनमा रहेको मोहन कन्या माविमा अध्ययनरत कन्या विद्यार्थीहरुलाई भने आत्मरक्षा तालिम दिइएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र मोहन कन्या माविको समन्वयमा यहाँ अध्ययनरत ३४ जना छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको हो ।

किशोरीहरुलाई आत्मरक्षा गर्न सक्ने तथा हिसांबारे चेतना जगाउने उद्देश्यका साथ तालिम दिइएको छ । तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफु कसरी बच्न सकिन्छ ?, आफ्नो क्षमता आफैले कसरी पहिचान गर्ने ?, आफ्नो सुरक्षा कसरी गर्ने ?, हिंसाहरु कस्ता कस्ता हुन्छन् ? कसरी आत्म अनुसाशनमा बस्ने र आपतकालिन अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । मुख्य प्रशिक्षक वीरबहादुर कुमालले प्रशिक्षण दिएका थिए । तालिम ५० दिनसम्म सञ्चालन भएको थियो । गत माघ ९ गतेदेखि सञ्चालन भएको तालिमको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । तालिमको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले समापन गरेका हुन् । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उनले आत्मसुरक्षाका लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । प्रमुख सुवेदीले किशोरीहरुका लागि ‘आत्म रक्षा सीप’ तालिमको आवश्यकता महशुस गरेर नै मोहन कन्यालाई छनौट गरिएको बताए । तालिममा सिकेका ज्ञान, सीपलाई  व्यवहारिक जीवनमा प्रयोग गर्न सके अपराधिक गतिविधिबाट बच्च सकिने धारणा व्यक्त गरे । 

सामाजिक विकास डिभिजन कार्यालय प्रमुख मित्रप्रसाद गौतमले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिर्दै जाने बताए । विद्यालयका प्रधानध्यापक दीपक ज्ञवालीले आत्मरक्षा तालिमको छनौट गरी कन्या विद्यालयका छात्राहरुलाई अवसर प्रदान गरेकोमा सामाजिक विकास डिभिजन कार्यालयलाई धन्यवाद दिए । प्रशिक्षक धनपति गैरेले आत्मरक्षाको सीप जानेका किशोरीहरुमा मनोवैज्ञानिक ढंगबाट आफु सक्षम र शाहसी छु भन्ने कुराको आत्मविश्वास बढाउने बताए । तालिममा सहभागी छात्रा प्रशंशा बगालेले तालिमले आफुहरुलाई साहशी र आत्मविश्वासी बनाएको बताइन् । उनले भनिन् ‘आत्मरक्षाका सीप नसिक्दा बाटोमा एक्लै हिंड्दा पनि डराउने, कमजोर भएको अनुभूति हुन्थ्यो भने तर अहिले तालिम लिएपछि भने आफुलाई साहशी र आत्मविश्वासी बनाएको छ ।’ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले तालिममा सहभागी छात्राहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update