Shittalpati
भूमि आयोग पाल्पा २ बर्षे गतिविधि : ७ सय ४७ जनालाई लाल पुर्जा

पाल्पा, भूमि आयोग पाल्पाले २ बर्षको अवधिमा जिल्लामा गरेका काम तथा गतिविधिहरु सार्वजनिक गरेको छ । जिल्ला समितिले तानसेनमा पत्रकार सम्मेलन गरी काम तथा गतिविधिहरु सार्वजनिक गरेको हो । 

उसले २ बर्षमा रामपुर नगरपालिकाबाट ७ सय ८३ वटा अव्यस्थितहरुका निवेदन परेकोमा ७ सय ४७ वटा लाल पुर्जा वितरण गरेको, ९ वटा लालपुर्जा मालपोत कार्यालयमा अध्यावधिक गरेको, १० वटा आयोगको गठन आदेश अनुसार फछ्र्याैट गरी निर्णय गरेको र १६ वटाको कित्ता एकिकरण भएको अध्यक्ष मोहन लाल गैरेले जानकारी दिए । समितिले अहिले तानसेन नगरपालिका भित्रको अव्यस्थित तथा भुमिहिन दलित तथा सुकुम्वासीको क्षेत्रमा काम शुरु गरेको जनाएको छ । जिल्लामा ८ वटा पालिकाबाट भुमिहिन दलित ३ सय ३ जना, भुमिहिन सुकुम्वासी, ६ सय ७१ जना,अव्यस्थित बसोवास ७ हजार ३ सय १७ जना गरी जम्मा ८ हजार २ सय ९१ जनाको निवेदन परेकोमा ५ हजार जनाको आयोगको सिष्टममा दर्ता भएको आयोगका जिल्ला अध्यक्ष गैरेले बताए । पुर्वखोला र रम्भा गाउँपालिकाबाट भने कुनै पनि निवेदन दर्ता नभएको  उनले बताए । 

पाल्पामा २०५५ सालमा बनेको जिल्ला सुकुम्वासी आयोगले वितरण गरेको ४०५ जग्गाको लालपुर्जाको नक्सा, श्रेष्ता, फिल्डवुक फेला नपरेको समितिले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेसका महासमिती सदस्य रामेश्वर पन्थी, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्रपार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा एकिकृत समाजवादीका सचिव जगन्नाथ नेपाल, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले समितिले अव्यस्थित जग्गालाई मात्र ध्यान दिएकाले अबका दिनमा भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई प्रमुख प्राथमिकता दिएर काम गर्न सुझाव दिए ।  

समितिका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले आयोगको झन्झटिलो नीति, लामो प्रक्रिया तथा सूचना प्रकाशन गर्ने व्यबस्था, दुई पटकसम्म भएको निर्वाचन आचार संहिताको कारण ७ सय ४७ जनालाई लालपुर्जा वितरण गरी सरकारलाई १२ करोड  राजश्व संकलन गराएको जानकारी दिए । पाल्पा अहिले लालपुर्जा वितरण गर्ने संख्यामा देशभरीमाबाट दोस्रो स्थानमा रहेको उनले बताए ।  पाल्पामा २०७८ साल चैत्र १७ गते मोहन लाल गैरेको अध्यक्षतामा ९ सदस्यीय भूमि आयोग जिल्ला समिति गठन भएको थियो । 

कर्मचारीको अभाव, पालिकाहरुबाट प्रयाप्त सहयोग र व्यवस्थापन नभएको हुँदा चाहे अनुसारको काम गर्न नपाएको समितिका अध्यक्ष गैरेले बताए । कार्यक्रमको सञ्चालन जिल्ला समितिका सदस्य सचिव नापी कार्यालय पाल्पाका प्रमुख अर्जुन पौडेलले गरेका थिए । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update