Shittalpati
 कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै सक्षम उद्यमी बनाउन पाल्पामा कृषि मेला   

पाल्पा, व्यवसायिक तरकारी खेतीबाट आफ्नो पहिचान बनाएको तानसेन नगरपालिका –९ मदनपोखरा दमकडामा कृषि मेला तथा प्रदर्शनी भएको छ । हरेक कृषकलाई प्रविधिसँग जोड्दै व्यवसायिक उत्पादन बढाई सक्षम कृषक उद्यमी बनाउनुको साथै कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियानका साथ मेला आयोजना गरिएको हो । 

कृषि उत्पादन बढाऔं  र परनिर्भरताको अन्त्य गरौं भन्ने मुल अभियानका साथ भएको कृषि मेला तथा प्रदर्शनीले पाल्पाका कृषकहरुमा उत्साह बढाएको छ । आधुनिक प्रविधीबाट कृषि तथा पशु उत्पादन बढाउन, कृषकलाई  प्रविधिमा जोड्न, सक्षम तथा समृृद्ध कृषक बनाउन मेला तथा प्रदर्शनी आयोजना गरिएको तानसेन– ९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । अझै पनि अधिकाश कृषकहरु परम्परागत रुपमा कृषि कर्म गर्दै आएका छन् । अहिले विश्वमा कृषि क्षेत्रमा नयाँ–नयाँ प्रविधीमा आधारित रहेर कम लगानी बढी उत्पादन गर्ने, बजार विस्तार तथा प्रसोधनका  कामहरु तिव्र रुपमा भईरहेका छन् । यस्ता कृषकहरुलाई आधुनिक प्रविधीसँंगै नेपाल सरकार कृषि निति नियमसँग परिचित गराउन, कृषकहरुका वास्तविक  समस्या जानकारी लिई आगामी बर्षका कृषि नीति तथा कार्यक्रम बनाउन, कृषि मेला तथा प्रदर्शनी उपयुक्त कार्यक्रम बनेको लुम्बिनी प्रदेश कृषि निर्देशनालयका निर्देशक राम प्रसाद पाण्डेले बताए । 

कृषि मेलामा स्थानीय उत्पादन  देखी विभिन्न किसिमका तरकारी, केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, तथा प्रशोधित खाद्यान्नहरु, फलफूल तथा नर्सरी राखिएका थिए ।  कृषकलाई प्रविधीसँग जोड्नको लागि  आवश्यक पर्ने कृषि औजार धान मकै लगाने मेशिन, खनजोत गर्ने मिनि टिलर, घरेलु कृषि औजारको जानकारी प्रर्दशनी, प्रयोग गर्ने तरीका, कृषि औजारहरुको मुल्यहरुको बारेमा जानकारी गराईएको थियो । कृषि महोत्सव कृषकलाई उद्यमी बनाउने आधुनिक प्रविधिसँंग जोड्दै उत्पादनमा वृद्धि गर्ने,उत्पादित कृषि उपजलाई प्रशोधन गरी बजारीकरण गर्ने अभियानले आफु जस्ता कृषि फार्महरुलाई फाईदा पुगेको तानसेन नगरपालिका –७ का  रोयल ताज एग्रो फार्मका सञ्चालक मुक्तिराम जिसीले बताए । 

व्यवसायिक कृषि तथा तरकारी उत्पादनमा मदनपोखरा नेपालकै परिचित नाम हो । २०३० सालदेखी पाल्पाको मदनपोखराका कृषकहरुले कृषि क्रान्ती अभियान नै चलाएका हुन । मदनपोखराका कृषकहरु १२ महिना तरकारी खेतीमै रमाउने गरेका छन् । मदनपोखराका  व्यवसायिक कृषि अभियान्ता  एक प्रसाद भण्डारी, धुर्वराज भण्डारी, इन्द्र पौडेल र रोम बहादुर रानालाई कृषि मेलामा सम्मान गरिएको छ ।  कृषि मेलामा  पशु प्रदर्शनीतर्फ आशिष एकिकृत कृषि तथा पशु फार्मको वोयर बोका उत्कृष्ट भयो । मदनपोखरा छापका दुर्गा बहादुर खाण ठकुरीले ३ बर्ष देखी स्थानीय खरिजातका बाख्रामा नश्ल सुधार गरी बोयर बाख्राबाट बार्षिक १० लाखसम्म आम्दानी गर्दै आएको बताए । 

मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य आयोजना, तानसेन नगरपालिका वडा नंं ९ दमकडाको सहयोगमा सञ्चालन भएको  कृषि मेला तथा प्रदर्शनीमा तानसेन नगरपालिका, बगनासकाली र माथागढी गाउँपालिकाबाट कृषकहरु कृषि प्रदर्शनीमा सहभागी भएका थिए । अहिलेका नयाँ पुस्ताहरु लाई कृषि कर्म सिकाउन, टिकाउन, कृषि प्रविधीमा विकाउन कृषि मेला केन्द्रित रहेको आयोजक सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताए ।

कृषि प्रदर्शनी तथा मेलामा करीव दुईसय कृषकहरुले आ–आफना कृषि उत्पादन प्रदर्शनमा राखेका थिए ।  कृषकहरुले रैथाने तथा परम्परागत बाली,  आधुनिक स्तरका फलफूल तथा तरकारी वाली, दलहन तथा तेलहन वाली, मसलाजन्य बाली, लहरेवाली लगायतका विविध उत्पादनहरुको प्रदर्शनी, राखेका थिए । मेलामा प्रदर्शनी प्रत्येक वाली तथा बाख्रा, कुखुरा पालन क्षेत्रमा उत्कृष्ट भएका चार चार जनालाई मुल्याङकन गरी पुरस्कृत गरिएको थियो । कृषि पेशा लाई अगाडी बढाउन, युवापुस्ता लाई कृषिमा आर्कषित गराउन, एक कृषक बाट अर्काे कृषकमा कृषि प्रविधी हस्तानतरणमा कृषि मेला सफल भएको छ ।  

कृषि मेला तथा प्रदर्शनीको पाल्पा क्षेत्र नंं २ का संघीय सांसद ठाकुर प्रसाद गैरे, पुर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डे, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका गैरे, तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, लुम्विनी प्रदेश कृषि निर्देशनालयका प्रमुख राम प्रसाद पाण्डे, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, कृषक एक प्रसाद भण्डारी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले स्टलहरुको अवलोकन गरेका थिए । कृषि मेला तथा प्रदर्शनीमा कुखुरा बोका राखेका उत्कृष्ट कृषक तथा  बाली नाली तरकारीका उत्पादनहरुमा उत्कृष्ट भएका कृषकहरुलाई प्रमुख अतिथी ठाकुर गैरे, वडा अध्यक्ष राजेश कुमार अर्याल,  संस्थाका अध्यक्ष घनश्याम घिमिरे, सचिव छविलाल भट्टराई लगायतले पुरस्कार बाट सम्मानित गरेका थिए । कृषिमेलामा लोकगायक पशुपती शर्माले समसामायीक गित गाएर दर्शकहरुलाई नचाएका थिए । 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update