Shittalpati
कलेजो रोगबाट पीडित रानाद्वारा सहयोगको याचना

पाल्पा, कलेजो रोगबाट पीडित माथागढी गाउँपालिका वडा ७, रहवासका ३० वर्षीय फानबहादुर रानाले सबैसँग सहयोगको याचना गरेका छन् । लामो समयदेखि रोगले थलिएका रानाले कलेजो प्रत्यारोपण गर्न आर्थिक सहायता मागेका हुन् ।

उनको आर्थिक अवस्था कमजोर छ । अस्पताले कलेजो प्रत्यारोपण गर्न भनेकाले आर्थिक संकलन गर्नुपर्ने अवस्था आएको हो । कलेजो प्रत्यारोपण गर्न ४५ लाख जति रकम लाग्ने भएपछि उनले सहयोग याचना गरेका हुन् । नेपाल प्रहरी सहायक हवल्दार पदमा कार्यरत रहेका राना आफैं कमाएर परिवारसँग  खुशी साट्ने बेलामा एक्कासी कलेजोमा समस्या देखिएपछि थप पिडामा परेको बताए । अकस्मात सामान्य बिरामी भएसँगै चेकजाँचको लागि नेपाल प्रहरी अस्पताल काठमाडौंमा पुगेका रानालाई अस्पतालले जन्डिस बिग्रेको बताएको थियो । जन्डिस बिग्रीएर कलेजोमा समेत पूर्ण रुपमा असर गरेकाले कलेजो नै प्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताएको पीडित रानाले बताए ।

‘कलेजो प्रत्यारोपणको लागि ४५ लाख रकम आवश्यक पर्ने अस्पतालले बताएको छ, मसँग भएको सबै पैसा अहिलेसम्म गरिएको उपचारमा खर्च भैसक्यो, अब उपचार गर्न पैसा छैन, जग्गाजमिन बेचु भने पनि गाउँमा रहेको सिमित जग्गाको कुनै मोल नै छैन, घरमा बुबा, श्रीमती र छोरा छन् उनीहरुको कुनै कमाई छैन’ रानाले गहभरी आँसु निकाल्दै भने । उनले कोही कसैबाट सहयोग पाए आफु बाच्न सक्ने बताए । उनको कलेजो प्रत्यारोपणको लागि ठूलो रकम चाहिने भएपछि अहिले परिवारले समेत रानालाई बचाइदिन भन्दै सहयोगको अपिल गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएकाले सहयोग याचना गरिएको परिवार स्रोतले जनाएको छ । परिवारको याचनासँगै उपचार खर्च जुट्न थालेको छ । स्थानीय, व्यवसायी तथा सामाजिक संघसंस्थाबाट सहयोग अभियान थालिएको स्थानीय रमेश रानाले बताए । उनले रानाको सहयोगको लागि ३१२०१०००००५२३१०४ नम्वरको बैंक खातामा रकम जम्मा गर्न सकिने समेत जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update